एकीकृत समाजवादीको वरिष्ठ नेता बन्ने माधवको प्रस्ताव मानेनन् वामदेवले

एकीकृत समाजवादीको वरिष्ठ नेता बन्ने माधवको प्रस्ताव मानेनन् वामदेवले

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई वरिष्ठ नेता बन्न प्रस्ताव गरेका छन्। तर, गौतमले भने त्यसलाई अस्विकार गरेका छन्। 

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी एकताबारेको छलफलमा गौतमले भने सक्रिय भूमिकाको माग राखेका छन्। 

छलफलबाट बाहिरिएपछि नेता गौतमले भने, 'उहाँले मलाई वरिष्ठ नेता बन्नुस् भन्ने प्रस्ताव गर्नुभयो। मलाई यस्तो किसिमको जिम्मेवारी हुनुपर्छ। केही न केही गरेको हुनुपर्छ। त्यस्तो किसिमको जिम्मेवारी नहुने वरिष्ठ नेतामात्रै बन्ने चिजले त भएको क्षमता पनि समाप्त हुन्छ।' 

एकीकृत समाजवादीमा गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ झलनाथ खनालपछिको तेस्रो वरीयता दिने तयारी छ। तर, गौतम पक्षका अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन। गौतम राष्ट्रिय एकता अभियान पार्टीका संयोजक पनि हुन्। 

छलफलमा अध्यक्ष नेपालले पार्टीको विधान अनुसारको पद दिइने भन्दै थप छलफल गर्ने बताएका छन्। दुई नेताबीच निर्णायक भनिएको आजको बैठकले निष्कर्ष दिन नसकेकाले फेरि बैठक बस्ने तयारी रहेको गौतमले बताए।  

पुष १५, २०८१ सोमबार १६:१६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।