विमान दुर्घटनामा दुई जनाबाहेक कसैलाई बचाउन नसकेपछि दक्षिण कोरियाको जेजु एयरले माग्यो माफी

विमान दुर्घटनामा दुई जनाबाहेक कसैलाई बचाउन नसकेपछि दक्षिण कोरियाको जेजु एयरले माग्यो माफी

एजेन्सी : दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ।

आइतबार ६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो। 

१८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरू सबैले ज्यान गुमाएपछि एयरलाइन्सले विज्ञप्ति नै निकालेर माफी मागेको हो।

जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौं।’

विज्ञप्तिमा थप अगाडि भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौं। हामी यस घटनाका लागि क्षमाप्रार्थी छौं।’

दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो। उनीहरुको उपचार भइरहेको अधिकारीले जनाएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

पुष १५, २०८१ सोमबार १४:२१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।