महिला देखिने ठाउँमा झ्याल राख्न तालिबान सरकारको प्रतिबन्ध, बनेका झ्यालमा पर्खाल लगाउन निर्देशन

महिला देखिने ठाउँमा झ्याल राख्न तालिबान सरकारको प्रतिबन्ध, बनेका झ्यालमा पर्खाल लगाउन निर्देशन

काठमाडौं : अफगानिस्तानमा तालिबान सरकारले महिलाहरू देखिने सम्भावित घरेलु भवनका सम्भावित स्थानमा झ्यालहरू बनाउन प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। अश्लीलता रोक्नका लागि यस्तो गरिएको तालिबानको तर्क छ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘नयाँ भवनहरूमा आँगन, भान्सा, छिमेकीको इनार र महिलाहरूले प्रयोग गर्ने अन्य ठाउँहरू देख्ने झ्यालहरू हुनुहुँदैन।’

महिलालाई भान्सामा, आँगनमा वा इनारबाट पानी ल्याउँदै गरेको देख्दा अश्लीलता बढ्नसक्ने तालिबानका प्रवक्ताकाे जिकिर छ।

तालिबानले अफगानिस्तानको नगर निगमका अधिकारीहरूलाई निर्माण भइरहेको नयाँ भवनहरूमा नजर राख्न आदेश दिइएको छ। यी भवनहरूमा छिमेकीको घरमा चिहाउन सक्ने त्यस्ता झ्यालहरू बनाउन अब नपाइने भएको छ।

त्यस्ता झ्यालहरू पहिल्यै अवस्थित भएमा घरधनीलाई अगाडि इँटाको पर्खाल बनाउन समेत निर्देशनमा भनिएको छ।

अफगानिस्तानको शासनमा फर्किएदेखि तालिबानले लगातार महिलाविरुद्ध तुघलकी आदेश जारी गर्दै आएको छ।

यस महिनाको सुरुमा तालिवानले अफगानिस्तानमा महिलाहरूलाई नर्सिङ प्रशिक्षणमा प्रतिबन्ध लगाएको थियो। यसको पछाडिको कारण खुलाइएको छैन।

यस वर्षको अगस्टमा अफगान महिलाहरूलाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध लगाइएको थियो। यससँगै महिलालाई अति आवश्यक पर्दा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ।

यस बाहेक तालिबानले महिलाहरुलाई खेलकुदमा भाग लिन पनि प्रतिबन्ध लगाएको छ।

पुष १५, २०८१ सोमबार १३:५९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।