मेलबर्न टेस्टमा यशस्वी जैसवालको विकेटमा थर्ड अम्पाएरको निर्णय विवादित, भएको के थियो?

मेलबर्न टेस्टमा यशस्वी जैसवालको विकेटमा थर्ड अम्पाएरको निर्णय विवादित, भएको के थियो?

एजेन्सी : मेलबर्न टेस्टमा यशस्वी जैसवालको विकेटमा थर्ड अम्पायरको निर्णयलाई लिएर विवाद भएको छ।

चौथो टेष्टको अन्तिम दिन अष्ट्रेलियाका कप्तान कमिन्सले आफ्नै बलमा यशस्वीविरुद्ध क्याचको लागि अपिल गरेका थिए। ग्राउन्ड अम्पायरले नट आउट दिए पनि अष्ट्रेलियाले डीआरएस लिएपछि थर्ड अम्पायरले यशस्वीलाई आउट घोषित गरेका थिए।

डीआरएसमा स्निको मिटरमा बल ब्याटमा लागेको वेभ देखिएको थिएन। यसका बावजुद थर्ड अम्पायरले भिजुअल डिफ्लेक्शनको आधारमा यशस्वीलाई आउट घोषित गरेका थिए।

यस निर्णयमा यशस्वीले ग्राउण्ड अम्पायरलाई प्रश्न पनि गरे पनि निर्णय परिवर्तन भएन। यो अवस्थामा यशस्वी ८४ रन बनाएर टोलीको नेतृत्व गरिरहेका थिए। यो निर्णयपछि मैदानमा उपस्थित भारतीय फ्यानहरूले ‘चिटर-चिटर’को नारा लगाएका थिए।

थर्ड अम्पायरले के आधारमा निर्णय दियो?
यो खेलका लागि थर्ड अम्पायरको जिम्मेवारी बंगलादेशका शरफुदुल्लाहले सम्हालिरहेका थिए। निर्णय लिनका लागि उनका अगाडि दुई वटा प्रमाणहरू राखिएका थिए- पहिलो स्निको मिटर र दोस्रो दृश्य प्रमाण।

स्निको मिटरमा बल र ब्याटबीच कुनै सम्पर्क देखिएको थिएन किनकी त्यहाँ कुनै आवाज आएको थिएन। तर, पञ्जा र बल एकदमै नजिक भएको र त्यहाँ डिफ्लेक्सन भएको देखिएपछि थर्ड अम्पायरले यशस्वीलाई आउट घोषित गरेका हुन्।

रेफ्रीले आउट दिएपछि धेरै भारतीय समर्थकले यसको विरोध गरेका थिए। यहाँसम्मकी  टेलिभिजनमा क्रिकेट कमेन्ट्री गरिरहेका पूर्व भारतीय क्रिकेटर सुनिल गावस्करले थर्ड अम्पायरले दबाबमा निर्णय लिएको आरोप समेत लगाए।

उनले भने, ‘तपाईंले निर्णय लिने क्रममा टेक्नोलोजी प्रयोग गरिरहनुभएको छ। स्निको मिटरमा यो स्पष्ट देखिन्थ्यो कि यो आउट भएको छैन। यो पूर्णतया गलत निर्णय हो। तपाईंले दबाबमा निर्णय लिनुभयो। अम्पायरले यशस्वी आउट भएको कुनै ठोस प्रमाण फेला नपारे पनि आउट दिनु पूर्ण रूपमा गलत हो।’

पुष १५, २०८१ सोमबार १३:३६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।