मेलबर्न टेस्टमा भारतविरुद्ध अष्ट्रेलियाको शानदार जित

मेलबर्न टेस्टमा भारतविरुद्ध अष्ट्रेलियाको शानदार जित

काठमाडौं : भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजको चौथो खेल अष्ट्रेलियाले एक सय ८४ रनले जितेको छ। योसँगै पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-१ ले अगाडि छ।

मेलबर्न टेस्टको अन्तिम दिन भारतले तीन सय ४० रनको लक्ष्य पाएकोमा उसले एक सय ५५ रन मात्र बनाउन सक्यो।

शीर्ष क्रमका ब्याट्सम्यानको खराब प्रदर्शनका कारण भारतले सिरिजमा दोस्रो हार व्यहोरेको हो।

खेलमा यशस्वी बाहेक पहिलो तीन ब्याट्सम्यान रोहित शर्मा ९, केएल राहुल ० र विराट कोहली ५ रनमा आउट भए।

यशस्वीले ऋषभ पन्तसँग ८८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिए पनि पन्तले खराब शट खेल्दै विकेट गुमाए। त्यसपछि जडेजा र रेड्डीको विकेट पनि क्रमशः पतन भयो।

यशस्वी जैसवाल ८४ रनमा आउट भए। फिल्ड अम्पायरले नट आउट घोषित गरे पनि थर्ड अम्पायरले उनलाई आउट दिए। यशस्वीपछि आकाश दीप सात रन बनाउँदै आउट भए।

अष्ट्रेलियाका कप्तान कमिन्स र स्कट बोल्यान्डले समान तीन-तीन विकेट लिँदा न्याथन लियोन दुई तथा मिचेल स्टार्क र ट्राभिस हेडले एक-एक विकेट लिए।

खेल हारेसँगै भारतको वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल खेल्नका लागि श्रीलंका र अष्ट्रेलियाबीचको टेस्टमा निर्भर रहनेछ।

अहिलेसम्म वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलका लागि दक्षिण अफ्रिका मात्र छनोट भएको छ।

पुष १५, २०८१ सोमबार १२:२१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।