चलचित्र पत्रकार सङ्घ बैठकको माग : केन्द्रदेखि स्थानीय तहसम्मले अनुदान बढाउनु, मिडियाको संरक्षण
काठमाडौँ : चलचित्र पत्रकार सङ्घले चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगारमूलक मिडियाहरूलाई संरक्षण गर्न चलचित्र विकास बोर्डसँग माग गरेको छ। सङ्घको बैठकले समन्वय र सहकार्य गरी चलचित्र पत्रकारिता मात्रै गर्ने मिडियाको संरक्षणका लागि चलचित्र विकास बोर्डसँग माग गरेको हो।
चितवनमा सम्पन्न बैठकले अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न माग गरेको छ।
१३ बुँदेमध्ये १० औँ बुँदामा चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालय सहित केन्द्रीय, प्रदेश र स्थानीय सरकार र सम्बन्धित पक्षसँग समेत माग गरेको छ।
चलचित्र पत्रकारिता पेसामा जिम्मेवारी र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको भन्दै सङ्घको बैठकले सङ्घको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग अपिल गरेको छ।
बैठकले चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग बैठकले माग समेत गरेको छ।
२०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुनेगरी तत्काल ल्याउन, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, रियल टाइम बक्स अफिसको कार्यान्वयन गर्न समेत सङ्घले माग गरेको छ।
पुष १५, २०८१ सोमबार ०१:३६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।