क्यानले अटेर गरेको खेलकुद मन्त्रालय र राखेपलाई ओलम्पिक कमिटीको चुनौती, कार्वाही गर्ने मन्त्रीको धम्की

क्यानले अटेर गरेको खेलकुद मन्त्रालय र राखेपलाई ओलम्पिक कमिटीको चुनौती, कार्वाही गर्ने मन्त्रीको धम्की

कास्की : नेपाल प्रिमियर लिगको मैदानबाट अवैध रूपमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डको प्रचार हुँदा मौन बसेका खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन नमान्ने खेल सङ्घ तथा नेपाल ओलम्पिक कमिटीलाई कारबाही गर्ने चेतावनी दिए।

पोखरा पुगेका उनले नेपाल ओलम्पिक कमिटीको निर्वाचनको प्रसङ्गमा मतदानमा संलग्न हुने २० खेल सङ्घ र सर्वोच्च अदालतको आदेश विपरीत निर्वाचन गराउने कमिटी अधिकारीलाई कार्वाही गर्ने चेतावनी दिए।

 ‘नेपाल ओलम्पिक कमिटी र खेल सङ्घको गतिविधिलाई नेपाल सरकारले सहज रूपमा लिएको छैन। खेल सङ्घलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधेका छौँ। जवाफ प्राप्त भएपछि कारबाही प्रक्रियाअघि बढाउँछौँ’, मन्त्री चौधरीले भने।

सर्वोच्च अदालतले तत्काल निर्वाचन नगराउनु भन्दै ओलम्पिक कमिटीको नाममा आदेश जारी गरे पनि आइतबार अनलाइन मतदान गराउँदै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्षमा निर्वाचित भएको घोषणा गरियो।

निर्वाचनमा २७ खेल सङ्घमध्ये २० वटा सहभागी भएका थिए। मन्त्री चौधरी ओलम्पिक कमिटीको निर्वाचनमा अनलाइनमार्फत भोटिङ गरेको भन्दै रिसाए।

सरकारले भौतिक निर्वाचनमा अवरोध गरेको भन्दै श्रेष्ठको सक्रियतामा पुस १३ मा अनलाइन मतदानको व्यवस्था गरिएको थियो। सर्वोच्च अदालतले पुस ११ मा सो निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशपछि राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक कमिटी र कमिटीसँग आबद्ध सम्पूर्ण खेल सङ्घ तथा प्रतिनिधिलाई निर्वाचन नगर्नु र नगराउनु निर्देशन दिएको थियो। तर श्रेष्ठले निर्वाचन गराएर आफू अध्यक्ष भएको घोषणा गरे।

उनले अध्यक्षको हैसियतमा आइतबार तीन जनालाई मानार्थ उपाध्यक्ष नियुक्त गरेको भन्दै विज्ञप्ति जारी गरे। विज्ञप्तिमा कमिटीको बैठकले नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी सङ्घका अध्यक्ष तुल्सी थापा र नेपाल भारोत्तोलन सङ्घका निवर्तमान अध्यक्ष रतनकुमार टण्डनलाई मानार्थ उपाध्यक्षमा मनोनयन गरेको उल्लेख छ।

क्यानले एनपिएलको खेल मैदानमा जुवा र सट्टा गराउने कम्पनीको सरोगेट ब्राण्डको प्रचार गरेपछि राखेप र खेलकुद मन्त्रालयले स्पष्टिकरण सोधेको थियो। तर क्यानले अझैँ स्पष्टिकरण बुझाएको छैन। क्यानले नै नियमनकारी निकायको अवज्ञा गरिरहेको बेलामा अहिले आएर कमिटी समेत जोडियो।

पुष १४, २०८१ आइतबार २२:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।