उकेरा टप फाइभ : बालेनले घटाए महानगरको विकास खर्चदेखि शंकास्पद सहकारी अध्यादेशसम्म
आइतबार नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत मन्दिरका लागि भन्दै स्थानीयलाई सस्तोमा जग्गा बेच्न लगाएर महँगोमा हाउजिङलाई दिएर घुस लिएको अभियोगमा परे।
उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड २२ लाख भ्रष्टाचार र करिब १३ करोड सम्पत्ति शुद्धीकरणको अलग अलग मुद्दा दायर गर्यो।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दुख दिएको भन्दै काठमाडौँका कवाड व्यवसायीहरू नव राजा चाहिँदैन भन्ने विरोध प्रदर्शनमा उत्रिए। उता सर्वोच्च अदालतले स्थगित गर्न दिएको आदेशविरुद्ध अनलाइन निर्वाचन गराएर जीवनराम श्रेष्ठ अध्यक्ष घोषित भए।
२७ वटा सङ्घमध्ये २० वटा सङ्घ अनलाइन निर्वाचनमा सहभागी भएका थिए। यस अगाडि उच्च अदालत पाटनले समेत आदेश दिए पनि श्रेष्ठले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए।
सर्वोच्चले समेत तत्काल निर्वाचन नगर्न आदेश दिए पनि श्रेष्ठले त्यसको अवज्ञा गर्दै शनिवार निर्वाचन गराएपछि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् कार्वाहीको तयारीमा लागे।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।
अब उकेरामा आइतबार प्रकाशित भएका प्रमुख पाँच खबर
१-सल्यानी खुकुरीलाई ब्रान्डिङ गरिरहेका कालिगडहरू भन्छन् 'हामीले नगरे आरन पेसाको इतिहासै मेटिने डर छ'
आइतबार बिहान उकेरामा सल्यानको ब्रान्ड बनेको खुकुरीको संरक्षणमा सक्रियहरूबारे फिचर स्टोरी प्रकाशित गरेको थियो। त्यसमध्येका एक हुन् विष्णु विश्वकर्मा।
शारदा नगरपालिका-२ खलङ्गाका ६४ वर्षीय विश्वकर्माले १० वर्षको उमेरदेखि आरनको काम गर्दै आएका छन्। पाँच वर्षको हुँदा देखि उनले फलामका हतियार बनाउन सिकेका थिए। बाजेदेखि बुवासम्मका पुर्खाले यही आरन पेसा गरेका विष्णुले आफूसँगै आफ्ना छोराहरूलाई पनि आरनमा जोडे। अहिले उनका माइला छोरा आरनमा जमिरहेका छन्।
उनले दाङमा 'सल्यानी खुकुरी एन्ड कृषि औजार हस्तकला उद्योग' चलाएका छन्। त्यहाँ सल्यानी ब्रान्डका खुकुरीहरू बन्छन्। आरनका अन्य कामभन्दा सल्यानी ब्रान्डका खुकुरी, खुँडा र घरेलु हतियार बनाउँदै आएको विष्णु बताउँछन्।
पुरा समाचार : सल्यानी खुकुरीलाई ब्रान्डिङ गरिरहेका कालिगडहरू भन्छन् 'हामीले नगरे आरन पेसाको इतिहासै मेटिने डर छ'
२- दुलही फिल्मको गीतका लागि अवार्ड लिन बोलाइयो, लिन जाँदा अर्कैलाई दिइयो
सङ्गीतकार अष्ट लामा भन्यो भने सायद कमैले चिन्लान्। किनभने उनी मिडियामा आइहाल्न रचाउँदैनन्। तर, उनका गीतहरूमा भने अधिकांश श्रोता तथा दर्शकले नाचेका छन्। ६० को दशकको अन्त्यतिर ‘राम्री पनि भाकी छु’ गीतमा ननाचेका स्कुले विद्यार्थीहरू कमै होलान्। त्यसो त फिल्म ‘दुलही’मा समावेश यो गीतको चर्चा अहिले पनि उत्तिकै छ। यही फिल्ममा समावेश गीत ‘सानो छँदा सुनेको थिएँ, एकादेशको कथा मैले’ पनि उत्तिकै चर्चामा रह्यो।
जनवादी गायकका रूपमा परिचित हुँदै व्यवसायीक सङ्गीतमा लागेको अष्टका दर्जनौँ हिट गीतहरू छन्। तर, उनी ओझेलमा परेका गायक तथा सङ्गीतकार हुन्। उनले सयौँ गीतमा सङ्गीत भरेका छन्। केही गीतमा आफैँ पनि स्वर दिएका छन्। उनले आफूले सङ्गीत गरेका अनि गाएको पाँच वटा र अरूको पाँच गीत प्रिय लाग्नुको कारणसहित उकेरालाई सुनाए।
पुरा समाचार : दुलही फिल्मको गीतका लागि अवार्ड लिन बोलाइयो, लिन जाँदा अर्कैलाई दिइयो
३-सबैले माछा-मासु खान कर गरे, तर शाकाहारी खाना खाँदा पनि दुवै बच्चा निकै स्वस्थ जन्मिए
उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा यो पटक प्राज्ञ हंसादेवीको अनुभव प्रकाशित भयो।
दुई सन्तानकी आमा रहेकी उनले आफ्नो प्रसव अनुभव बाँड्दै भनिन् :
पहिलो सन्तान हुने बेलामा म पार्ट टाइम मात्र काम गर्थेँ। अनुवादको कामहरू त्यही बेलामा सुरु गरेको हो। त्यसले गर्दा आर्थिक अवस्था पनि सुधारिँदै गयो।
जस्तो परिस्थिति आए पनि म पहिला मानसिक रूपमा तयार हुन पर्छ भनेर नै अगाडि बढेँ। मेरो बच्चा हो, यो मेरो जिम्मेवारी हो। उ प्रतिको सम्पूर्ण जिम्मेवारी मैले गर्नुपर्छ भनेर आफू एकदम बलियो भएँ। त्यै भएर हो कि मेरो तौल पनि गर्भावस्थामा एकदम राम्रो भएको थियो। गर्भमै पनि सन्तान निकै स्वस्थ भयो।
साधारणतया ५३ केजी भइराख्ने मेरो तौल गर्भावस्थाको अन्तिम तिर ८३ पुगेको थियो। त्यसबेला म हिँडी नै राख्थेँ। काम पनि गरी नै राखेको भएर निकै सक्रिय थिएँ। त्यै भएर होला गर्भावस्थामा धेरै गाह्रो महसुस गरिन।
४‑ सहकारी अध्यादेश : ठगीको विचाराधीन मुद्दामा पनि मिलापत्र, सम्पत्ति फुकुवा, बचतको सीमा तोकियो
सहकारी ठगीको जालोमा सरकारै जेलिँदै गइरहेको बेलामा संसद् अधिवेशन नबोलाएर चोरबाट बनाएको सहकारी सम्बन्धी अध्यादेश आइतबार जारी भयो।
अध्यादेशका केही प्रावधानहरू सहकारीमा रकम फसेका बचतकर्ताहरूको बचत फिर्ता गराउन राखिएझैँ देखिए पनि केही प्रावधानहरू भने निकै शंकास्पद देखिन्छ। अदालतमा विचाराधीन मुद्दामा मिलापत्र हुनसक्ने प्रावधान राखिएको अध्यादेशमा ठगीको अनुसन्धानकोक्रममा कुनै सम्पत्ति रोक्का भएको भए त्यो समेत खुलाउने प्रावधान राखेको छ।
सहकारीको नियमन गर्न सहकारी बोर्ड खारेज गरेर प्राधिकरणको गठन, सहकारीको निश्चित कार्यक्षेत्र तोक्नुको साटो एकै सहकारीलाई प्रदेश अनि विभिन्न जिल्लाहरूमा समेत शाखा खोल्न सकिने असीमित सुविधाहरू दिएर अध्यादेशले जोखिम समेत बढाएको छ।
पुरा समाचार : सहकारी अध्यादेश : ठगीको विचाराधीन मुद्दामा पनि मिलापत्र, सम्पत्ति फुकुवा, बचतको सीमा तोकियो
५- काठमाडौँ महानगरपालिकाको बजेट खर्च कमजोर, विकास बजेट घटाएर प्रशासनिक बजेट बढाउँदै
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगाडि नै विकास बजेट घटाएर प्रशासनिक खर्च बढाउने गरी बजेट संशोधन प्रक्रिया सुरु गरेको छ। महानगरपालिका नगर सभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आर्थिक वर्षको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन्।
संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट ७२ करोड ९९ लाख ७१ हजारबाट घटाएर ७२ करोड ४३ लाख ७१ हजार बनाउन प्रस्ताव गरिएको छ। सो प्रस्ताव पास भएमा विकासतर्फ करिब ५६ लाख बजेट घट्नेछ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव अनुसार कार्यालय सञ्चालन र प्रशासनिक काममा करिब दुई करोड बजेट थप हुनेछ।
पुरा समाचार : काठमाडौँ महानगरपालिकाको बजेट खर्च कमजोर, विकास बजेट घटाएर प्रशासनिक बजेट बढाउँदै
पुष १४, २०८१ आइतबार २२:१०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।