कार्साङको प्रेमिल गीतमा दयाहाङको कम्मरै हल्लिएन
काठमाडौँ : फिल्मको प्रमोसन जोडतोडले चल्दाचल्दै बिचमा छायाङ्कन गरिएको फिल्म ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । ‘सात भन्ज्याङ’ बोलको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई अनि सिर्जना लिङलेखुको अभिनय छ।
डीपी खनालको शब्द रचना रहेको गीतमा एसडी योगीको सङ्गीत, एसडी योगी र रेश्मा पुन मगरको स्वर छ। रिकेश गुरुङको एरेन्जमा छायाङ्कन भएको गीतमा नाच्न दयाहाङले त्यति राम्रो अभ्यास गर्न नपाएको उनको शारीरिक हाउभाउले नै देखाउँछ।
पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको संस्कृति समेट्न खोजिएको गीतमा पहाडी भागको भाव दिन दाइँ लगाएको दृश्यहरूमा मिहेनत गरेको देखिए पनि मुलपानीको चौरको पछाडि रहेका घरहरू गीतमा हल्का चियाइरहेको प्रस्टै देखिन्छ।
फिल्म कार्साङ पुस २६ मा रिलिज हुँदैछ। फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ।
पुष १४, २०८१ आइतबार २१:१६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।