मन्दिर बनाउने भन्दै लिएको जग्गा पद्मा कोलोनीलाई,मेयर र सञ्चालकमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौँ : हाउजिङ व्यवसायीको फाइदा पुग्नेगरी काम गरेर ९ करोड २२ लाख अनियमितता गरेको आरोपमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुद्दा दायर गरेको छ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट आर्थिक लाभ लिएको आरोपमा आइतबार मुद्दा दायर भएको हो।
अभियोग पत्र अनुसार मेयर बस्नेतले पहिला जगतगुरु कृपालु प्रतिष्ठानको मन्दिरका लागि भनेर स्थानीयलाई सस्तोमा जग्गा बेच्न लगाएर पछि त्यही जग्गा पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेललाई प्लटिङका लागि उपलब्ध गराएर हाउजिङमार्फत जग्गाहरू विक्री गरेका थिए।
अख्तियारले दायर गरेको अभियोग पत्रमा ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएर राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ गराएको उल्लेख छ।
हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत बस्नेतले आफ्नो बैङ्क खातामा २ करोड १५ लाख रुपैयाँ घुस लिएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ। उनको श्रीमती उर्मिलाको बैङ्क खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको र त्यो पनि घुसबापत भएको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार शङ्कर होटेलमा मेयर बस्नेतले पार्टी गरेका थिए। पार्टी गरेबापतको करिब २५ लाख रुपैयाँ समेत सोही कम्पनीले भुक्तानी गरिदिएको देखिन्छ।
१३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण
अख्तियारले उनीमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ। दोस्रो मुद्दामा उनले गैर कानुनी रूपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण भएको दाबी गरिएको छ।
अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीलाई समेत प्रतिवादी बनाएर ९ करोड २२ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।
सम्पत्ति शुद्धीकरणमा मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर अभियोग पत्र दायर भएको छ।
पुष १४, २०८१ आइतबार १८:२२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।