काठमाडौँ महानगरपालिकाको बजेट खर्च कमजोर, विकास बजेट घटाएर प्रशासनिक बजेट बढाउँदै

काठमाडौँ महानगरपालिकाको बजेट खर्च कमजोर, विकास बजेट घटाएर प्रशासनिक बजेट बढाउँदै

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगाडि नै विकास बजेट घटाएर प्रशासनिक खर्च बढाउने गरी बजेट संशोधन प्रक्रिया सुरु गरेको छ। महानगरपालिका नगर सभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आर्थिक वर्षको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन्।

 प्रस्तावमा महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरू हेरफेर गर्न जरुरी देखिएको उल्लेख छ।

विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव पेस गरेको डङ्गोलको प्रस्तावमा उल्लेख छ।

आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको उनले दाबी गरिन्।

संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट ७२ करोड ९९ लाख ७१ हजारबाट घटाएर ७२ करोड ४३ लाख ७१ हजार बनाउन प्रस्ताव गरिएको छ। सो प्रस्ताव पास भएमा विकासतर्फ करिब ५६ लाख बजेट घट्नेछ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव अनुसार कार्यालय सञ्चालन र प्रशासनिक काममा करिब दुई करोड बजेट थप हुनेछ।

पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ।

सामाजिक विकासका क्षेत्रमा यसअघि पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई पनि घटाएर पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ। उक्त क्षेत्रमा यस अघि दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगर सभालाई जानकारी दिइन्। हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो।

महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ।

यसमा पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको डङ्गोलले जानकारी दिइन्। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ।

पुष १४, २०८१ आइतबार १६:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।