सप्तपाताल पोखरी सहितको ४५ रोपनी क्षेत्रमा महानगरले ग्रीनरी पार्क बनाउने
काठमाडौँ : ललितपुर महानगरपालिकाले लगनखेलमा सप्तपाताल पोखरी र नेपाली सेनाबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने तयारी गरेको छ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले ४५ रोपनी क्षेत्रमा पोखरीसहित पार्क निर्माण गर्ने घोषणा गरेका हुन्।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महर्जनले ४५ रोपनी जग्गामा पोखरी, ग्रीनरी पार्कहरू बनाउने घोषणा गरे।
महर्जनका अनुसार परापूर्वकालदेखि चल्दै आएको राजकुलोलाई पुनः सञ्चालनमा ल्याई सप्तपाताल पोखरी र कमल पोखरीमा पानी पुर्याउने योजना छ। यो राजकुलो टिका भैरवबाट सुरु भई लगनखेलसम्म जोड्ने योजना उनले सुनाए।
तर, असोज ११ र १२ गते परेको भारी वर्षाका कारण राजकुलोको स्ट्रिम निर्माण कार्यमा समस्या आएको बताउँदै महर्जनले परापूर्वकालदेखि नै राजकुलो, सप्तो पाताल पोखरी लगनखेलबाट १४.२ किलोमिटर दक्षिणमा रहेको जनकारी दिए।
‘टिका भैरवबाट राजकुलोमा आजभोलि नै देखिने काम सुरु हुन गइरहेको छ। तर, एउटा दुखको कुरा हाम्रो यो प्रोजेक्ट लन्च गरिसकेपछि असोज ११-१२ गते जुन किसिमले पानी पर्यो त्यसले नन्दुबाट टिका भैरवसम्म स्ट्रिम जोड्ने काममा अवरोध भएको छ’ उनले भने।
उनले आफ्नो कार्यकालका बाँकी दुई वर्षभित्र परियोजना सम्पन्न गर्न सकिने बताए।
पुष १४, २०८१ आइतबार १६:३७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।