अष्ट लामाका प्रिय १० सुर : दुलही फिल्मको ‘सानो छँदा सुनेको थिएँ’बाट अवार्ड लिन बोलाइयो, लिन जाँदा अर्कैलाई दिइयो

अष्ट लामाका प्रिय १० सुर : दुलही फिल्मको ‘सानो छँदा सुनेको थिएँ’बाट अवार्ड लिन बोलाइयो, लिन जाँदा अर्कैलाई दिइयो
तस्बिर : उत्तम केसी

काठमाडौं : संगीतकार अष्ट लामा भन्यो भने सायद कमैले चिन्लान्। किनभने उनी मिडियामा आइहाल्न रूचाउँदैनन्। तर, उनका गीतहरूमा भने अधिकांश स्रोता तथा दर्शकले नाचेका छन्। ६० को दशकको अन्त्यतिर ‘राम्री पनि भाकी छु’ गीतमा ननाचेका स्कुले विद्यार्थीहरू कमै होलान्। त्यसो त फिल्म ‘दुलही’मा समावेश यो गीतको चर्चा अहिले पनि उत्तिकै छ। यही फिल्ममा समावेश गीत ‘सानो छँदा सुनेको थिएँ, एकादेशको कथा मैले’ पनि उत्तिकै चर्चामा रह्यो। 

जनवादी गायकका रूपमा परिचितहुँदै व्यवसायीक संगीतमा लागेको अष्टका दर्जनौं हिट गीतहरू छन्। तर, उनी ओझेलमा परेका गायक तथा संगीतकार हुन्। उनले सयौं गीतमा संगीत भरेका छन्। केही गीतमा आफैं पनि स्वर दिएका छन्। उनले आफूले संगीत गरेका अनि गाएको पाँच वटा र अरूको पाँच गीत प्रिय लाग्नुको कारणसहित उकेरालाई सुनाएका छन्।  

आफ्ना पाँच :

सानो छँदा सुनेको थिएँ 
यो गीतको नामकरणले जन्मिएको गीत हो। त्यतिबेला यस फिल्मका निर्देशकसँग बस्दा यो फिल्मको नाम के राख्ने भन्ने छलफल भएको थियो। पछि सबैको सल्लाह बमोजिम दुलही राखौं न भन्ने भयो। त्यसरी जन्मिएको यो फिल्म त हिट भयो नै, गीतले पनि उत्तिकै चर्चा पायो। मलाई संगीतकारमा अष्ट लामा भनेर थप चर्चामा पुर्याएको गीत यही हो।

२०६८ सालमा वितरण गरिएको 'डि सिने अवार्ड'मा मलाई जुरीले यो अवार्ड दिन योग्य व्यक्ति भनेर छानेका रहेछन्। यसका अध्यक्ष शान्तिप्रियले मलाई अवार्ड हुने अघिल्लो साँझ अवार्ड पाउनुभएको छ भन्दै बधाई दिनुभयो। उहाँले आफ्नो पत्रिकालाई मेरो स्टुडियोको नामबाट विज्ञापन पनि माग्नुभयो। मैले दिएँ पनि। तर, भोलिपल्ट अवार्ड पाइयो भनेर खुशी हुँदै कार्यक्रममा पुग्दा अवार्ड अर्कैले पाएको थाहा पाएँ। यो गीत सुन्दा त्यो नमीठो क्षण पनि सम्झन्छु। मेरो नामको त्यो अवार्डमा रातारात लिने मान्छे परिवर्तन भएपछि मलाई अवार्डमा भन्दा गीतको सिर्जना नै उत्कृष्ट लाग्यो। त्यसैले यो गीत मेरो लागि अति प्रिय लाग्छ। गीत दयाराम पाण्डेले लेख्नुभएको हो भने उदितनारायण झा र सञ्जिवनीले गाउनु भएको छ। 

राम्री पनि भाकी छु
यो गीत पनि दुलही फिल्मकै हो। यो गीत १०/११ वर्षपछि पनि उत्तिकै लोकप्रिय बनेको छ। स्कुलको डान्स कार्यक्रम होस् या कुनै पनि सांस्कृतिक कार्यक्रम, जो कोही नाचेको देख्दा असाध्यै खुशी लाग्छ। मन आफैं हर्षित भएर आउँछ। मैले त्यतिबेला गरेको सिर्जनाले अहिले पनि 'मेरो संगीतको गीत हो है' भन्न पाएको छु। यो गीतको संगीत भर्दा गीतकारले कुन मुडमा लेख्नु भएको हो भनेर सोधेको थिएँ। उहाँले '१५/१६ वर्षकी युवतीको रोमान्टिक मुड' भनेपछि त्यहिअनुसार संगीत गरें। यो गीतले अत्यधिक मात्रामा सफलता हात पार्यो पनि। गीतलाई बाबुराम दाहालले लेख्नुभएको हो भने स्वर सुनिधी चौहानको छ। उहाँ बलिउडकी गायिका हुनुहुन्छ। 

सागर बनी पर्खिरहनु
साधना सरगम र जावेद अलीले गाउनु भएको यो गीत मलाई असाध्यै प्रिय लाग्छ। यो गीत म बेला-बेला आफैं पनि गुनगुनाइरहेको हुन्छु। यो गीत पनि ‘दुलही’ फिल्मकै हो। यो गीत रेकर्ड गर्दाको आफ्नै कथा छ। यो गीत नेपालमै रेकर्ड गर्ने मुडमा थियौँ। तर प्रोड्युसरले मुम्बईमै रेकर्ड गरौं भन्ने कुरा गर्नुभयो। मैले पनि हुन्छ भनेर मुम्बई गयौं। गीत रेकर्ड गर्न त्यहाँको कैलाशा स्टुडियोमा पुग्यौं र को गायक-गायिका राख्ने भन्ने कुरामा छलफल भयो। सोहीक्रममा स्टुडियोका साथीहरूले जावेद अली र साधना सरगमको नाम लिनुभयो। उहाँहरू आएर यति मेहनत गरेर गाइदिनुभयो नि म तीन छक्क परें। त्यसरी पनि यो गीत मीठो बनेको होला। गीतलाई बाबुराम दाहालले नै लेख्नु भएको हो। 

चरी बस्यो हो, बाँसैको सै सैमा
मैले आफ्नै लगानीमा ५४ सालमा निकालेको एल्बममा समावेश गीत हो। पहिलो गीत सबैलाई प्यारो नै लाग्दो रहेछ। यो समयमा नेपालमा लोकपप गीत एकदमै चलेको थियो। मैले गाएको यो गीत पनि चल्यो। कम्पनीले त्यतिबेला झण्डै ३० हजार हाराहारी बिक्यो भन्थ्यो। कति बिक्यो थाहा भएन। आफ्नै शब्द रचना र संगीत पनि मेरै हो। 

तिमी नरोउ भन्ने मेरो चाहना
मैले संगीत भरेको यो गीत गीत सुरेश अधिकारीले गाउनु भएको थियो। गीत असाध्यै चल्यो पनि। यो गीतलाई रमेश श्रेष्ठले लेख्नु भएको हो। अहिले रमेश त यो संसारमा हुनुहुन्न। यो गीतले सुरेश अधिकारीलाई पनि उचाइमा पुर्याएको थियो। यो गीत म्युजिक नेपालमा रेकर्ड गरेर रेडियो नेपालमा बुझाएका थियौं। त्यतिबेला यो गीत रेडियो नेपालले बजाउनका लागि योग्य छ भनेर सेन्सर पास गरेको थियो। यो गीत बज्दा संगीतकार अष्ट लामा भनेर सुनाउँदा मान्छे देखिंदैन थियो तर नाम आउँथ्यो। यो गीत सुन्दाखेरि अहिले पनि रेडियोमा त्यो बेलाको सम्झना गराउँछ। 

अरूको पाँच :

मेरो गीत मेरो प्रतिबिम्ब होइन
यो गीतले हरेक नवगायक-गायिका तथा संघर्षरत श्रष्टाको लागि बोलेको हो जस्तो लाग्छ। किनभने नेपालको सन्दर्भमा प्राय: बुबाआमाले छोराछोरीलाई 'संगीतमा नलागेर कुनै व्यवसायमा लाग' भनेको देखिन्छ। सायद गोपाल योञ्जन दाइलाई पनि उहाँको परिवारले त्यसै भन्नु भएको थियो कि! त्यसैको प्रभावले उहाँले यो गीत लेख्नुभएको हो जस्तो लाग्छ। गीतमा संगीत पनि उहाँले भर्नु भएको हो।

त्यतिबेला संगीतमा लागेर जिविका चलाउन सकिँदैन थियो नि! यो गीत सुन्दा मलाई पनि आफ्नै शब्द भाव हो की भन्ने आभास दिलाउँछ। किनभने मेरो दाजु गाविस सचिव हुनुहुन्थ्यो। मेरो बुबाआमाको पनि अष्टले सरकारी जागिर नै खाओस् भन्ने चाहना थियो। छोरा गाइने भएर नहिँड भन्नुहुन्थ्यो। तर, म सरकारी जागिर नखाएर गीतसंगीतमा लागे। त्यस कारण यो गीत मेरो लागि अति प्रिय छ। यो गीतलाई नारायण गोपालले गाउनुभएको छ।  

सोचे जस्तो हुन्न जीवन
तारादेवीले गाउनु भएको यो गीत स्कुल पढ्दाको समयमा खूब सुन्थें। लेडिजको भोकल भएर म गाउन त गाउँदिन थिएँ तर असाध्यै सुन्ने मध्येमा मेरो पहिलो नम्बरको गीत थियो। यो गीत रेडियो या मोबाइलमा बज्यो भने बाल्यकालको याद दिलाउँछ। यो गीतले हरेक मान्छेको पिडा बोकेको छ जस्तो लाग्छ। किनभने कसैको जीवन पनि सोचे जस्तो हुँदैन। यो गीत मेरो जीवनमा पनि केही मेल खान्छ। मेरो गीतहरू चले, गीत सँगसँगै म पनि चलुँ भन्ने थियो। तर, चल्न सकिँन। यो गीतको शब्द र स्वर असाध्यै मीठो लाग्छ। गीतलाई दिनेश अधिकारीले लेख्नुभएको हो भने नातिकाजीले संगीत भर्नु भएको छ।  

अल्झेछ क्यारे पछ्यौरी
यो गीत मन नपर्ने सायद को होला र? यो गीतको शब्द, संगीत र स्वरले मलाई गहिराइसम्म छुन्छ। नारायण गोपालको गायिकी र गोपाल योञ्जनको संगीत भरिएको यो गीत स्कुलमा पढ्दा खुबै गुनगुनाउने गर्थें। अहिले पनि म अफिसमा बसेको बेला गुनगुनाइरहेको हुन्छु। ५१/५२ सालतिर सिन्धुलीको ढुङ्ग्रेबासमा मैले यो गीत गाउँदाखेरि एक झोला पैसा पाएको छु। राम्रो गीत गाएको भनेर कसैले ५ सय, कसैले हजार, कसैले सय यस्तै-यस्तै पुरस्कार स्वरूप पैसा दिनुभएको थियो। जति क्षमता छ त्यति दिनु भएको थियो। त्यो क्षण सम्झाउने गीत पनि हो । त्यस कारण यो गीत मेरो लागि प्रिय छ। यो गीत भुपि शेरचनले लेख्नुभएको हो। 

बनेको छ पहराले 
यो गीतले मान्छेलाई देशप्रति प्रेम गर्न सिकाउँछ। आफ्नो देशको रक्षा गर्नका लागि र कसैप्रति नझुक्न आग्रह गर्छ। यो गीतको शब्द नै यति गहकिलो छ कि म बयान गर्नै सक्दिनँ। यो गीत सुन्दा मलाई, हामी नेपाली हौं, कोहीप्रति झुक्नु हुन्न भने भाव पैदा गराउँछ। कुनै पनि काम गर्नका लागि मलाई आत्मबल बढाउने गीत हो भन्दा फरक पर्दैन। यो गीत गोपाल योञ्जनकै शब्द, संगीत तथा स्वरमा छ। 

एक धर्दो सिन्दुर के हो र!
सुरेश अधिकारीले गाएको यो गीत मलाई एकदमै मनपर्छ। गीतको शब्द भाव सुन्नु न, कति मार्मिक छ। संसार नै मायामा अडिएको छ। एक धर्को सिन्दुर के हो र, त्यो त पखालिन सक्छ, छुरा-पोते काँचको न हो, त्यो पनि फुट्न सक्छ भन्ने शब्दले मलाई छोएको हो। त्यसै पनि सुरेशको स्वर एकदमै राम्रो छ। यो गीत अहिले पनि म बेलाबेला गुनगुनाइरहेको हुन्छु। यो गीतमा शब्द भोला श्रेष्ठको छ भने संगीत सुरेश अधिकारीले नै भरेका छन्। यो गीतमा सुरेशले गाउँदा न्याय दिएको छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय बनेको हो।  

पुष १४, २०८१ आइतबार १४:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।