सल्यानी खुकुरीलाई ब्रान्डिङ गरिरहेका कालीगढहरू भन्छन् 'हामीले नगरे आरन पेसाको इतिहासै मेटिने डर छ'

सल्यानी खुकुरीलाई ब्रान्डिङ गरिरहेका कालीगढहरू भन्छन् 'हामीले नगरे आरन पेसाको इतिहासै मेटिने डर छ'

सल्यान : सारदा नगरपालिका-२ खलंगाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि आरनको काम गर्दै आएका छन्। पाँच वर्षको हुँदा देखि उनले फलामका हतियार बनाउन सिकेका थिए। बाजेदेखि बुवासम्मका पुर्खाले यही आरन पेशा गरेका विष्णुले आफूसँगै आफ्ना छोराहरूलाई पनि आरनमा जोडे। अहिले उनका माइला छोरा आरनमा जमिरहेका छन्। 

उनले दाङमा 'सल्यानी खुकुरी एन्ड कृषि औजार हस्तकला उद्योग' चलाएका छन्। त्यहाँ सल्यानी ब्रान्डका खुकुरीहरू बन्छन्। आरनका अन्य कामभन्दा सल्यानी ब्रान्डका खुकुरी, खुँडा र घरेलु हतियार बनाउँदै आएको विष्णु बताउँछन्।     

‘तीन छोरा मध्ये दुई छोरा सशस्त्र प्रहरी छन्। अर्का एक छोरा पढिरहेका छन्। उनीहरू तीनै जनाले खुकुरी र आरनको काम सिकेका छन्,’ उनले भने, ‘जागिरबाट रिटायर्ड भएपछि उनीहरुले गर्ने पनि यही हो। हामीले बनाएर पो सल्यानी ब्रान्डको चर्चा हुन्छ। यदि भोलिका पिढीले गरेनन् भने इतिहास नै मेटिन्छ। त्यसैले म यो काम छोड्न सक्दैन।’ 

विष्णु २०५५ सालमा ‘सन्तोष खुकुरी उद्योग’ दर्ता गरेर व्यवसायिकरूपमै खुकुरी उत्पादनमा लागेका थिए। तर, पहिला बालिघरे प्रथाका कारण श्रम शोषणमात्रै हुने गरेको अनि अहिले चाहिँ नगदमा कारोबार हुन थालेपछि आम्दानीमा बृद्धि उनी सुनाउँछन्। 

‘पहिला त एक/दुई पाथीमा काम गरिन्थ्यो। अहिले नापेर बेच्न थालेपछि मासिक ६० हजार रूपैयाँसम्म बचत हुन्छ,’ विष्णुले भने, ‘कहिलेकाहीं त प्रशिक्षक भएर समेत विभिन्न जिल्ला जान्छु।’ 

विष्णुले हतियार बनाउने पिस भएको आफू सातौं पुस्ताको रुपमा रहेको भन्दै घरबाटै सामग्रीहरू बिक्री गर्ने गरेको बताए। विष्णुले वीरहरूको पाइलासहितको ‘पाटीवाल’ खुकुरी बनाउँछन्। यो नै सल्यानी खुकुरीको मुख्य ब्रान्ड हो। जुन ग्राहकको पहिलो रोजाई बन्ने गरेको उनले सुनाए। 

उनले औंलाको १६० रूपैयाँका दरले खुकुरी र खुँडाहरू बेच्ने गरेका छन्। खुकुरी र खुँडाको मूल्य १५ सय देखि १० हजार रूपैयाँसम्म पर्छ।

‘सल्यानी खुकुरीलाई ग्राहकले चिन्ने भनेकै वीरहरूका पैताला र पाटीवाल हो,’ उनले थपे ‘खुकुरीमा तीनवटा पाटा हुन्छन्। त्यसले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्छन्। धारको भाग नदीनालाको संकेत हो भने वीरका पैतालाले उनीहरुले लडाईंमा गरेको योगदान भन्ने बुझिन्छ। अरू पनि विभिन्न संकेतहरू हुन्छन्।’ 

विभिन्न प्रदर्शनीहरूमा समेत आफूले बनाएका खुकुरीले पुरस्कार पाएको अनि बाबुबाजेले बनाएका सल्यानी खुकुरी राजदरबारसम्म पुगेको उनले सुनाए। 

त्यस्तै, ४२ वर्षीय अर्का कालीगढ कुलबहादुर विक पनि २० वर्षदेखि खुकुरी बनाएर बेचिरहेका छन्। उनले दैनिक एकदेखि दुई वटासम्म खुकुरी बनाएर बेच्ने गरेका छन्। कुलबहादुरका बुवा-बाजेले पनि यही आरन पेशा गर्थे। अहिले उनी आफैंले पनि एक छोरा र दुई छोरीलाई यही पेशाबाटै पालनपोषण र पढाई लेखाई गराइरहेका छन्। 

उनले उत्पादन गरेका खुकुरीहरू केही फुटकरमा बिक्री गर्छन् भने अधिकांश खुकुरी र खुँडाहरू स्थानीय सल्यानी खुकुरी उद्योगलाई औंलाको १४० रूपैयाँका दरले बेच्ने गरेका छन्। 

‘लामो दिनमा दुई वटासम्म खुकुरी बनाइन्छ। आजभोलि त एक मात्रै बनाउन सकिन्छ। कोही घरमै आएर लिन्छन्। बाँकी सबै सल्यानी खुकुरी उद्योगमा बेच्छु,’ उनले भने, ‘यसो गर्दा पनि ७० देखि ८० हजारसम्म कमाउने गरेको छु। घरव्यवहार यसैबाट चलाएको छु।’ 

उनले आरनमा फलाम तताउनका लागि कोइला ५० रुपैयाँ प्याक किन्ने गरेको र टल्काउनका लागि विद्युतबाट चल्ने ग्राण्डिङ मेसिनबाट काम गर्दै आएको बताए। तर, वनबाट कोइला ल्याउन नपाएपछि व्यवसाय गर्न समस्या परेको उनको दुखेको छ। 

खलंगाकै ३६ वर्षीय राजु विकले पनि १५ वर्षदेखि आरन चलाइरहेका छन्। उनले दुई/तीन वर्ष भारतको सिम्लामा काम गरे। पछि उनलाई अर्काको गुलामी बन्नभन्दा बाबु-बाजेको पेशा अँगाल्ने सोच आयो अनि आरन पेसामा मनग्गे आम्दानी कमाई रहेका छन्। 

‘भारततिर गैयो। त्यहाँ दुःख पाइयो। त्यहाँबाट फर्किएपछि मात्रै यो काम गर्न थालेको हुँ,’ उनले भने, ‘अहिले ५० हजार रूपैयाँसम्म मासिक कमाई गर्छु। मेरा ग्राहक विभिन्न जिल्लाका कर्मचारी र पर्यटकहरू हुन्। मागअनुसार पुर्याउनै सकेको छैन।’ 

उनको आरनमा घरायसी काममा प्रयोग हुने सानादेखि मार हान्ने ठूला खुकुरी र खुँडा बन्छन्। ग्राहकको माग अनुसार पेस्तोल खुकुरी, डाँफे खुकुरी, माछी खुकुरी पुर्याउनै नसकेको उनको भनाई छ। 

उनले खुकुरी बनाउनका लागि आवश्यक पर्ने फलाम दाङको तुलसीपुरका कबाडीखानाबाट सय रुपैयाँ किलोसम्म ल्याउने गरेका छन्। कबाडीबाट नपुगेपछि मात्रै उनीहरुले पसलबाट फलाम ल्याउँछन्। विष्णु, कुलबहादुर र राजु मात्रै होइनन्। सल्यानका आठ जना कालीगढले सल्यानी खुकुरीको ब्रान्डिङ गरिरहेका छन्। तर, आफूहरूलाई सरकारी निकायले आवश्यक स्रोत, साधन र कोइला व्यवस्थापनमा सहयोग नगरेको उनीहरुको गुनासो छ।

कालीगढका उत्पादन बिक्री केन्द्रमा
कालीगढले उत्पादन गरेका खुकुरी, खुँडा लगायतका मतियारहरु खलंगामै रहेको सल्यानी खुकुरी संकलन तथा बिक्री केन्द्रले खरिद गर्दै आएको छ। केन्द्रले विगत १० वर्षदेखि आरनमा कालीगढले उत्पादन गरेका सामग्रीहरू औंलाको १४० रूपैयाँका दरले खरिद गर्दै आएको संचालक निस्ता विश्वकर्मा बताउँछिन्। 

उनले भनिन्, ‘१४० रूपैयाँमा ल्याउँछौं। २०० सयमा बेच्छौं। जसले गर्दा कालीगढलाई पनि रोजगारी, हामीलाई पनि व्यवसाय भएको छ।’ 

सल्यानी खुकुरीको ब्राण्डलाई संकलन तथा उत्पादन केन्द्रले थप प्रोत्साहन गरेको सञ्चालक विश्वकर्मा बताउँछिन्। काठमाण्डौं, नेपालगञ्ज, सुर्खेत, दाङ, चितवन लगायतका ठाउँमा खुकुरी पठाउँदै आएको उनको भनाई छ।

पुष १४, २०८१ आइतबार १३:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।