दक्षिण कोरियामा भएको विमान दुर्घटनामा सवार १८१ जनामध्ये दुई महिला बाहेक कोही बाँचेनन्
एजेन्सी : दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ।
विमानमा सवार १८१ जनामध्ये दुई जनामात्र जीवित रहेको अधिकारीहरूले जनाएका छन्। उनीहरू एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन्।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। घाइते भएका दुवै महिलाहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ।
उनीहरूबाहेक अरू कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ।
चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो।
थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।
धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ।
पुष १४, २०८१ आइतबार ११:२९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।