अवलोकन भ्रमण, निर्देशन र भाषणमै रूमलिए उपप्रधानमन्त्री सिंह, भन्छन्- 'नतिजा दिने गरी काम गर्न आएका हौं

अवलोकन भ्रमण, निर्देशन र भाषणमै रूमलिए उपप्रधानमन्त्री सिंह, भन्छन्- 'नतिजा दिने गरी काम गर्न आएका हौं

काठमाडौं : निम्ता आएका प्राय सबैका कार्यक्रममा उपस्थित जनाउन नछुटाउने उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह बितेको एक साता व्यस्त रहे। हरेक कार्यक्रममा उनले जनतामा आशा जगाउने मन्तव्य व्यक्त गर्न छुटाएनन्। 

केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रधानमन्त्री पछिको दोस्रो बरीयतामा रहेका सिंहले मन्त्री पदमा शपथ लिएदेखि भन्न नछुटाएको एउटा वाक्य हो- 'सरकार बनाउन मात्रै होइन, नतिजा दिनेगरी काम गर्न आएका हौ।'

उनका आशा जगाउने यस्ता वाक्य वा शब्द जति प्रयोग भएपनि व्यवहारमा लागू नभएको पाइयो। सरकार बनेको चार महिना बितिसक्दा पनि उनले भाषण र उद्घाटनलाई भने सुरूदेखि अहिलेसम्मै प्राथमिकतामा राखेका छन्। मन्त्री बनेको १०० दिन पूरा भएको उपलक्ष्यमा उनले आफैंले कार्य विवरण जानकारी गराउँदै काम गर्न नसकेको स्वीकार्न भने छाडेनन्। 

मन्त्री सिंहले धरहरा परिसरमा निर्मित मुख्य संरचनाहरू (धरहरा, बेसमेन्ट, पार्किङ, बगैंचा) गत असोज ३ बाट लागि सर्वसाधारणका लागि खुला गरे। यसलाई आफ्नो उपलब्धि ठानेका छन्। 

यसैगरी बितेको चार महिनामा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको बताएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेल्धुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, तेह्रथुमम, मारेकहटहरे स्वास्थ्य चौकी र मूर्तिढुङ्गा स्वास्थ्य चौकी धनकुटा र थोकलुङ स्वास्थ्य चौकी तेह्रथुमको निर्माण कार्य सम्पन्न भएका छन्। 

जाजरकोट र रूकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण सम्पन्न भएका छन्। भैंसेपाटीमा मन्त्री आवास निर्माण कार्य सम्पन्न भएको छ। १८ जना संघीय मन्त्री, राष्ट्रिय सभाको उपाध्यक्ष र जवान लाइनको ३ वटै भवनमा सुरक्षाकर्मी बसिसकेका छन्। 

सिंहकै कार्यकालमा दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहलको भजन निर्माण कार्य सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण भइसकेको छ। ५० वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको र १० वटा पुल निर्माण कार्य चालू अवस्थामा रहेको मन्त्री सिंहको सचिवालयले जनाएको छ।

त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको, गोकर्णदेखि गुह्येश्वरीसम्म ढल मुक्त गराउने तयारी रहेको मन्त्रीले एक दिनकै उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रममा बताइसकेका छन्। तर, मुख्य गरी विगत केही दिनका उनका दैनिक गतिविधिहरू मन्तव्यमा केन्द्रित भएका छन्। 

पुस १ मा मन्त्री सिंह काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भए। उनले उक्त श्रद्धाञ्जली कार्यक्रममा पीएल सिंहबाट सिक्ने भनेको विधिको शासन हो भन्न भ्याए। 

उनले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ। उहाँलाई हामीले चिनेको पनि त्यसरी नै हो। उहाँले आफ्नो जीवन नै प्रजातन्त्रको लागि समर्पित गर्नुभयो।’ 

पुस ६ मा मन्त्री सिंह चन्द्रागिरी-चित्लाङ सडक अवलोकनमा गए। जता सहभागी भए पनि कामको समीक्षा नगर्ने उनी प्रधानमन्त्री जस्तै निर्देशन दिन पछाडि परेनन्। के कारण सडक बन्न सकेन, त्यसको कारण बुझ्नुको सट्टा प्रधानमन्त्रीकै शैलीलाई कपी गर्दै त्यहाँबाट निर्देशन दिएर फर्किए।

उक्त अवलोकनमा सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताए। पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनको दाबी रह्यो। राजनीतिक स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए। 

यसैगरी पुस ७ मा मन्त्री सिंह अन्नपूर्ण गाउँपालिका भदौरे ४ कास्कीमा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा पुगे। उक्त समारोहमा सम्बोधन गर्दै सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्याउने बताए। मेला महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको उनले सुनाए। यसपटक पनि उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको भने। 

‘हाम्रो गाउँठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुशी पार्नका लागि हामी लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने,‘ महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि पढ्छ। सकेसम्म विदेशी पाहुनालाई पनि आकर्षित गर्न सकियो भने अझ राम्रो हुन्छ।’ 

उनले पुस ८ मा नेपाली कांग्रेस सय दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गरे। उक्त सम्बोधनमा उनले निर्वाचनको समयमा पार्टी जनता बाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शून्य नै आउने बताए। त्यही दिन उनी निजी क्षेत्रको साझेदारी र नवप्रवर्तनशील रणनीतिक कार्यक्रममा पुगे। जहाँ उनलेनिजी क्षेत्रसँग साझेदारी गर्न आवश्यक रहेको बताए। 

पुस ९ मा मन्त्री सिंह नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न रूपन्देही पुगे। जहाँ उनले आर्थिक समृद्धिका लागि कांग्रेस सक्षम छ भनेर कांग्रेसको प्रशंसा गरे। 

प्रधानमन्त्री दुईपटक बाहिर जाँदा देशको कार्यवाहक प्रधानमन्त्रीसमेत रहिसकेका मन्त्री सिंहको दैनिकी उद्घाटन, अवलोकन, निर्देशन र मन्तव्यमा केन्द्रित भएको देखिन्छ। देश गएको बाढी-पहिरोमा उनी कार्यवाहक प्रधानमन्त्री छँदा देशलाई दुखिरहेको बेला पनि आफ्नो जिम्मेवारी निभाउन नसकेको भन्दै उनको आलोचना समेत भएको थियो। 

तर, त्यतिहुँदा पनि उनले आफ्ना दैनिकी भने रेडिमेड भाषण, निर्देशन र उद्घाटनमै कटाउने गरेका छन्। कतिसम्म भने, कुनै कार्यक्रममा त उनले आफैंले भन्ने गरेका छन्, ‘यो कार्यक्रम के का लागि आयोजना गरिएको हो, मलाई पूर्ण ज्ञान छैन।’

पुष १४, २०८१ आइतबार ११:११:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।