इटा उद्योगका मजदुर भन्छन् 'पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ'

इटा उद्योगका मजदुर भन्छन् 'पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ'

काठमाडौं : काठमाडौं उपत्यका भित्रका इटा उद्योगहरूमा इटा निर्माणको काम सुरू भएको छ। यही माघ १ देखि भट्टाहरूमा इटा पोल्ने काम थालिने छ। 

इटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरूबाट मजदुरहरू उपत्यका भित्रिरहेका छन्। तर, जोखिमपूर्ण मानिने इटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन्। जीवन गुजारा चलाउन उद्योगहरू राम्रो भएपनि पारिश्रमिकका हिसाबले मजदुर सन्तुष्ट छैनन्। 

काभ्रेबाट आएका शिवबहादुर तामाङले ६ बर्षदेखि इटा बनाउँदै आएपनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए। 

उनले भने, ‘तर इटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन। हजार वटा इटा बनाएको १२ सय ५० आउँछ। दिनमा दुई हजारदेखि २५ सय इटा बनाउन सकिन्छ। बिहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन।’

शिव बहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ। 

उनले भने, ‘काम गरेको पूरै पैसा काम सकिएपछि वैशाखतिर मात्र आउँछ। जति धेरै इटा बनायो, उत्ति पैसा आउँछ। डेढ लाख जति बनायो भने एकलाख ७५ हजार रुपैयाँ आउँछ। दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ। दुःख गरे अनुसार यो पैसा थोरै नै हो।’

अन्यन्त्र रोजगारी नभएका बेला इटा बनाउने कामले आफूहरूलाई सन्तुष्टि दिएको मजदुरहरूको भनाइ छ। 

‘अन्त काम छैन। सिजनका बेलामा अलिअलि भएनी कमाई हुन्छ । बालबच्चा पाल्नुपर्यो। आफूले पनि खानैपर्यो। भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,’ उनले भने। 

बजारमा पाकेको इटाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए। इँटा व्यवसायबाट साहुहरूलाई पनि समस्या नै भएको उनको भनाइ छ।

यता, इटा उद्योगधन्दाका आफ्नै खाले समस्याहरू छन्। धेरैले रोजगारी पाएपनि व्यवसायमा धेरै समस्याहरू रहेको भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाई छ। 

‘शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरूलाई इटा उद्योगले रोजगारी दिलाएको छ। रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्लातिरका मजदुरहरूका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने, ‘३० हजार कामदारले रोजगारी पाएका छन्। एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रूपैयाँसम्म मजदुरहरूलाई वितरण गरेको रेकर्ड छ।’

जति संख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उनले बताए। श्रीमान–श्रीमती नै मजदुरी गर्नेहरूले दिनमै ३६ सय रूपैयाँसम्म वितरण गरेको उनले सुनाए।

इटाको मूल्य निर्धारण इटाको गुणस्तर अनुसार हुने गरेको उनको दाबी छ। तर इटा स्टक बस्दा व्यवसायीहरू मारमा परेको उनले बताए। 

अध्यक्ष ह्योम्वाले इटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरूलाई मार परेको बताए।   

पुष १४, २०८१ आइतबार १०:३६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।