भीम रावललाई नयाँ पार्टी खोल्न विष्णु रिमालको चुनौती, भने- अरे यार, बनाएर देखाऊ न आफ्नो घर !
काठमाडौं : एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीबाट निष्काशित नेता भीम रावललाई नयाँ पार्टी खोल्न चुनौती दिएका छन्।
पार्टी अधक्ष्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमा स्टाटस राख्दै आफ्नै घर बनाउन चुनौती दिएका छन्।
अध्यक्ष ओलीसँग निकट रहेका रिमालले भनेका छन्, ‘अरे यार! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न! ढोका खोलून् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरून्–बाल मतलव!'
रिमालले ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सधैं पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन्।
'अनवरत ‘किच-किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरू भएको विवादमा, हामी एकताको पक्षमा उभियौं। उनले विभाजनको बाटो रोजे। बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए, उनले लेखेका छन्।
रावलले एमाले विभाजनको लागि माधव नेपाल उचालेर एकता भन्दै आफू अर्कातिर अल्झिएको रिमालको दाबी छ।
उनले लेखेका छन्, 'सानै सही, असहमत ‘अरूहरूले दुःखैले बनाएको घरमा लुसुक्क छिरे, ‘वन साङ्लाले घर साङ्लालाई लखेटेझैं उल्टै हाकिम पल्टिए।'
पुष १४, २०८१ आइतबार ०९:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।