लाजिम्पाटमा व्यवसायीलाई अन्धाधुन्ध रडले हानेको घटनामा संलग्न दीपक मनाङेका तत्कालीन स्वकीय सचिव पक्राउ

लाजिम्पाटमा व्यवसायीलाई अन्धाधुन्ध रडले हानेको घटनामा संलग्न दीपक मनाङेका तत्कालीन स्वकीय सचिव पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुलीका टीका भण्डारी छन्। भण्डारी अहिले जेलमा रहेका पूर्व प्रदेशमन्त्री दीपक मनाङेका तत्कालीन स्वकीय सचिव हुन्। 

शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

व्यवसायी लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको परिसर बताउँछ।

लामालाई आक्रमण गरेको आरोपमा प्रहरीले यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो। अदालतको आदेशले मार्सल थुनामा गएको प्रहरीले जनाएको छ। 

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा लामालाई गत कात्तिक ११ मा चार जनाको समूह मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। अस्पतालको सीसीटीभी फुटेजमा देखिएअनुसार सेतो रङको निजी कारसहित पाकिङभित्र छिरेका लामालाई उनीहरूले अन्धाधुन्ध रड प्रहार गरेको देखिन्छ। चारजनाको समूहले लामा बेहोस नहुँदासम्मै प्रहार गरेको फुटेजमा देखिन्छ।

टाउकोमा गम्भीर चोट लागेर ढलेपछि पनि उनीमाथि आक्रमण गरेको देखिन्छ। फुटेजमा लामा चल्न नसक्ने अवस्थामा पुगेपछि भने उनीहरू भागेका देखिएको थियो। 

पुष १४, २०८१ आइतबार ०९:१६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।