ओडानाकु केन्द्रबिन्दु भएर कालिकोटमा भूकम्पको धक्का

ओडानाकु केन्द्रबिन्दु भएर कालिकोटमा भूकम्पको धक्का

काठमाडौं : कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो।

भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

पछिल्लो केही समयदेखि पश्चिम नेपालमा १३ दिनमा ८ वटा पराकम्प गइरहनुको मुख्य कारण भनेको गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प हो। २०८० असोज १६ मा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको एक महिनापछि सोही ठाउँ केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्यूडको अर्को भूकम्प गयो।

खानी तथा भूगर्भ विभागकी उप-महानिर्देशक मोनिका झाले जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेको बताइन्। 

उनका अनुसार अहिले पश्चिम नेपालमा लगातार भूकम्प जानुको दोस्रो कारण त्यहाँ सञ्चय भएको शक्ति हो। भूकम्प क्षेत्रका जानकारहरूका अनुसार पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन। अर्थात् जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ। 

पुष १४, २०८१ आइतबार ०७:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।