उकेरा टप फाइभ : डा. भोजराजको उपचार अनुभवदेखि कलाकारको महँगो पारिश्रमिकसम्म
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आज ५०औं दीक्षान्त समारोह आयोजना गरेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी छन्। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भए। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।
५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे। उनले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे।
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो। उनप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। सिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो।
दक्षिण कोरियामा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डुक सुलाई महाभियोग लगाएर हटाएपछि त्यहाँको संसदमा हंगामा भएको छ। उनलाई हटाउने पक्षमा एक सय ५१ मत आवश्यक भएकोमा एक सय ९२ मत खसेको थियो। महाभियोगपछि सांसदहरूले एक-अर्काको कठालो समातेका थिए। सत्तारुढ दलले मतदान बहिष्कार गरेपछि कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा एक मत पनि परेन।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
स्वास्थ्य सेवा विभागले निश्चित सप्लायर्स कम्पनीलाई टेण्डर दिनेगरी करिब साढे १८ करोडको तीन वटा मेसिनको टेण्डर आह्वान गरेको देखिएको छ। विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)का प्रमुख डा. सुरेन्द्र चौरासियाले सरुवा हुनुअघि नै स्पेशिफिकेसन लक्ड गरेर चाहेकै कम्पनीलाई सेटिङमा टेन्डर दिनेगरी प्रक्रिया अघि बढाएको देखिएको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चौरासियालाई विभाग अन्तर्गतकै नर्सिङ महाशाखामा दुई हप्ताअघि सरुवा गरेका थिए। तर, त्यसअघि नै उनले टेन्डरको चाँजोपाँचो मिलाइसकेका थिए।
पूरा समाचार: स्वास्थ्य सेवा विभागमा पाँच करोड कमिसनको सेटिङ, स्पेशिफिकेशन लक्ड गरेर तीन मेसिनको टेन्डर
कथा, पटकथा र संवादलाई केन्द्रमा नराखिएको आरोप नेपाली फिल्मलाई लाग्दै आएको पुरानो आरोप हो। पछिल्ला केही वर्षयता आएका अधिकांश फिल्मले यसलाई पुष्टि पनि गरेको छ। यसमा केही अपवाद फिल्महरू पनि छन्। तर कथा, पटकथा र संवाद गतिलो नहुँदा पनि निर्माताहरू फिल्ममा पैसा खन्याइरहेका छन्। फिल्मका निर्देशकले सही पात्रलाई सही कलाकार राख्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापार र समीक्षामा परेको देखिन्छ।
पूरा समाचार: कथामा सुधार नहुँदा पनि कलाकारको पारिश्रमिक बढेको बढ्यै, बंगाली अभिनेताको हविगत हुनसक्ने समीक्षकको चिन्ता
‘नाम सरस्वती भएर के गर्नु, सरस्वती पूजामा उनै सरस्वती माताकै पूजा गर्न नपाएपछि!’ बैतडीकी सरस्वती नेपालीको अनुभूति हो यो। सरस्वती नाम भएकी उनको थर ‘नेपाली’ भएकै कारण स्कुल पढ्दा कहिल्यै सरस्वती पूजा गर्न पाइनन्। ०५८ अघिसम्म, बैतडीको सबैभन्दा ठूलो जगन्नाथ मन्दिरमा दलितहरूलाई प्रवेश बर्जित थियो। यसबाट बैतडीका दलित समुदाय उकुसमुकुस थिए। त्यही उकुसमुकुसले जन्मायो, ०५८ जेठको विद्रोह। प्रस्तुत छ, उकेराको नियमित कोलम जातका कुरा।
पूरा समाचार: जातका कुरा : दश भन्दा बढी एनजीओमा काम गरिसकेपछि सरस्वतीलाई लाग्यो- ‘दलितहरूको मुक्ति एनजीओले गर्दै गर्दैन’
उकेरासँगकर्मीको करिब आधा घण्टाको कुराकानीका क्रममा मुत्र रोग तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. भोजराज लुइँटेल पटक-पटक घडी हेरिरहन्थे। बिरामीको ओपीडी र भर्ना भएका बिरामीको राउन्डमा जान हतार भएको उनको हाउभाउबाटै प्रष्ट देखिन्थ्यो। व्यस्तताको बावजुत उकेरासँग डा. भोजराजले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव सुनाए।
पूरा समाचार: डा. भोजराजको उपचार अनुभव : डाक्टरले काललाई अलि पर धकेल्न सक्छन्, अजम्बरी दिन त कहाँ सकिन्छ र!
प्रधानमन्त्री केपी शर्मा ओली नेपालका ४५औं प्रधानमन्त्री हुन्। यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन्। यसपटक प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेको समर्थनमा प्रधानमन्त्री उनीमा संविधान शंसोधन गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, विकास र समृद्धिको खाका तयार गरेर त्यसतर्फ मुलुकलाई लैजानुपर्ने लगायतका अभिभारा छन्। तर, उनी प्रधानमन्त्री भएपछिका कार्यहरू भने ठ्याक्कै त्यसको विपरीत छन्। बितेको एक हप्तामा प्रधानमन्त्री ओलीले उद्घाटन, भाषण र एक अर्कालाई व्यङ्ग गर्नैमै बिताएको देखिन्छ।
पूरा समाचार: फेरिएन प्रधानमन्त्री ओलीको दिनचर्या : भेटघाट, भाषण र निर्देशनमै बित्छ हप्ता दिन
पुष १३, २०८१ शनिबार २१:४४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।