१३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प, यस्तो छ कारण

काठमाडौं : यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।
सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ मा बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ मा बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ मा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो।
पुस ६ मा बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको र पुस ११ मा जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ।
विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।
पछिल्लो केही समयदेखि पश्चिम नेपालमा लगातार भूकम्प गइरहनुको मुख्य कारण भनेको गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प हो। २०८० असोज १६ मा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको एक महिनापछि सोही ठाउँ केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्यूडको अर्को भूकम्प गयो।
खानी तथा भूगर्भ विभागकी उप-महानिर्देशक मोनिका झाले जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेको बताइन्।
उनका अनुसार अहिले पश्चिम नेपालमा लगातार भूकम्प जानुको दोस्रो कारण त्यहाँ सञ्चय भएको शक्ति हो। भूकम्प क्षेत्रका जानकारहरूका अनुसार पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन। अर्थात् जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ।
पुष १३, २०८१ शनिबार २१:१४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।