आइएमईबाट पैसा पठाउँदा एक करोड जितेकी प्रमिलाले भनिन्- यो पैसाले बुवाआमालाई घर बनाइदिन्छु

आइएमईबाट पैसा पठाउँदा एक करोड जितेकी प्रमिलाले भनिन्- यो पैसाले बुवाआमालाई घर बनाइदिन्छु

काठमाडौं : विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) द्वारा नेपाल पठाएबापत प्रमिला रोकायाले एक करोड पुरस्कार जितेकी छन्। जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत एक करोडको चेक हस्तान्तरण गरेको हो। 

कैलालीको गोदावरी नगरपालिका-९ स्थित बल्मी टोलकी रोकायलाई आज कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे। चेक बुझेपछि उनले आइएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको बताए।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेस्डर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बनेकी हुन्। 

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौं, करोडपति बनौं’ योजना  अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो। 

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो। प्रत्येक महिना एक जनाले एक लाख नगद प्राप्त गरेका छन्। 

आइएमई गरी ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन्। आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको आइएमईले जनाएको छ। 

पुष १३, २०८१ शनिबार २०:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।