डा. भोजराजको उपचार अनुभव : डाक्टरले काललाई अलि पर धकेल्न सक्छन्, अजम्बरी दिन त कहाँ सकिन्छ र!

डा. भोजराजको उपचार अनुभव : डाक्टरले काललाई अलि पर धकेल्न सक्छन्, अजम्बरी दिन त कहाँ सकिन्छ र!

केही दिनअघि बिहान दश बजेतिर त्रिवि शिक्षण अस्पतालको ‘युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट सर्जरी’ विभागमा पुग्दा डा. भोजराज लुइँटेल हतारमै देखिन्थे। कार्यकक्षमा छिर्दा हातमा बाँधेको घडी हेर्दै उनले भने, ‘हेर्नु न, यती बेला भइसक्यो। आज डेढ सय बिरामीको टिकट छ। राउण्ड लिन बाँकी नै छ। चाँडै कुरा गरेर सकौँ है!’ 

अनि उनीसँगको कुराकानी सुरू भयो। उकेरासँगकर्मीको करिब आधा घण्टाको कुराकानीका क्रममा मुत्र रोग तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. भोजराज पटक-पटक घडी हेरिरहन्थे। बिरामीको ओपीडी र भर्ना भएका बिरामीको राउन्डमा जान हतार भएको उनको हाउभाउबाटै प्रष्ट देखिन्थ्यो।  

व्यस्तताको बावजुत उकेरासँग डा. भोजराजले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव सुनाए। 

000

काल टार्ने डाक्टरी पेशा 
उनीसँग चिकित्सकीय पेसाको प्रकृतिबाटै कुराकानी सुरू भयो। बिरामी भएका सबै व्यक्तिलाई चिकित्सकीय विधि अपनाएर पनि बचाउन सम्भव छैन। डा. भोजराज चिकित्सकीय पेशा मान्छेको बिग्रिएको इन्जिन सपार्ने कोसिस गर्ने पेशाका रूपमा लिन्छन्। उनको बुझाइमा यो पेशा तत्कालका लागि मान्छेको काल टार्ने पेशा हो। 

मान्छे एक दिन मर्नु त छँदैछ। तर, चिकित्सकीय ज्ञान तथा सीपको प्रयोग गरी व्यक्तिको तत्कालका लागि काल भने टार्न सकिने उनले सुनाए। ‘काल त ढुकेरै बसेको हुन्छ। उपचार गरेर मान्छेको काललाई अलि पर धकेल्न सकिन्छ। डाक्टरले मान्छेलाई अजम्बरी दिन त सक्दैनन् नि!,’ डा. भोजराजले सुनाए। 

डा. भोजराज चिकित्सकीय विद्यालाई सामाजिक र विशुद्ध विज्ञानको मिश्रित विधाका रुपमा लिन्छन्। यो विधा अझै पूर्ण नभएकाले नै अध्ययन अनुसन्धान निरन्तर रुपमा भइरहेको कुरा सत्य हो। त्यसैले त चिकित्सकीय विधालाई ‘अनिश्चितताको विज्ञान र सम्भावना भएको कला’का रुपमा समेत लिन्छन्, उनी। 

नयाँ नयाँ रोगहरू निम्तिरहन्छन्। ती रोगका निराकरण गर्न वैज्ञानिक खोज तथा अनुसन्धान गरी उपचारात्मक विधि अपनाइन्छ। त्यसैले डाक्टरकहाँ जानेबित्तिकै सबै रोग चैट हुन्छ भन्ने सोच्न नहुने उनको सुझाव छ। उपचारपछि सबै बिरामी ठिक हुन्छन् नै भन्ने पनि छैन। रोग ठिक पार्ने कोसिस गर्दै बिरामीलाई भरोसा दिलाउने काममा भने उनी संवेदनशील नै छन्। 

पछिल्लो समय वैज्ञानिक खोज तथा अनुसन्धानका कारण उपचारपछि अधिकांश स्वास्थ्य समस्या ठिक हुने गरेकोसमेत डा. भोजराजले अनुभव सुनाए। त्यसो त दक्षिण एसियामा भारतको भन्दा नेपालमा स्वास्थ्य सुचकांक राम्रो भएकोमा उनलाई आनन्द लाग्छ नै। तर, कयौं व्यक्तिहरू ‘नजिकको तीर्थ हेला’ भन्ने जसरी नेपालमै सम्भव हुने रोगको उपचारका लागि समेत ठूलो धनराशि खर्च गरेर भारत जाने प्रवृत्ति रहेको उनले सुनाए। 

त्रुटी हुँदा डाक्टरलाई दोष
उपचारका दौरानमा सबै बिरामीले जस पनि कहाँ दिन्छन् र! कतिपयले त गुनासो गरिहाल्छन् नि। तर, बिरामीको उपचारको शिलशिलामा लापरबाही, त्रुटी र स्वास्थ्य जटिलतामध्ये के भएको हो भन्ने विषय बिरामी तथा बिरामी पक्षले बुझ्नुपर्ने डा. भोजराजको सुझाव छ। कहिलेकाहीँ बिरामीको उपचारको शिलशिलामा मानवीय त्रुटी हुन सक्ने र बिरामीको स्वास्थ्य जटिलता पनि निम्तनसक्ने उनले सुनाए। त्रुटीले मानवीय स्वास्थ्यमा ठूलो असर नगर्न पनि सक्छ। तर, लापरबाही गर्ने छुट छैन। 

कतिपय बिरामी पक्षले उपचारका शिलशिलामा व्यक्तिको स्वास्थ्यमा निम्तनसक्ने जटिलतालाई लापरबाहीका रुपमा बुझिदिँदा समस्या हुने गरेको उनले अनुभव सुनाए। डा. भोजराज भने यस्तो विषयमा बडो संवेदनशील भएरै काम गर्छन्। कतिपय व्यक्तिमा राज्यसंरचनाप्रति वितृष्णा भएका कारण बिरामीको उपचारको शिलशिलामा त्रुटी र जटिलता निम्तिएको खण्डमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आक्रमण हुने गरेको उनले अनुभव सुनाए। 

मृत्यु नजिक पुगेका कतिपय व्यक्तिलाई बाँच्ने आशामा अस्पतालमा पुर्याइने गरेको तर, कहिलेकाहीं बचाउने कोसिस गर्दागर्दै पनि सम्भव नहुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दोष लगाउँदा भने उनको मन खिन्न हुन्छ।

त्यसो त डा. भोजराजले स्वास्थ्य संस्थामा बिरामीको चाप धेरै हुने भएकाले सबै बिरामीलाई परामर्श दिनका लागि पर्याप्त समय नहुने गरेको दुखेसो सुनाए। चिकित्सकीय रुपमा बिरामीलाई राम्रो उपचार प्रक्रिया अपनाउँदा पनि बिरामी तथा बिरामी पक्षलाई राम्रोसँग परामर्श दिन सम्भव नहुँदा कहिलेकाहीं समस्या निम्तिने गरेको सुनाए। तर, बिरामीको औषधि, उपचार र परामर्शमा उनी संवेदनशील हुन्छन्। त्यसका लागि उनले बिरामीको समस्या राम्रो सुन्ने अनि त्यही अनुसार उपचार प्रक्रिया अपनाउने गरेका छन्। 

फेरिपनि कतिपय बिरामी पक्षले उनलाई समेत गाली गरेका छन्। त्यसैमध्ये, केही वर्षअघि गाली खानुपरेको एउटा घटना उनले सुनाए। करिब ३५ वर्षका युवाको अण्डकोषको नासा मिलाउनुपर्ने थियो। डा. भोजराजको टिमले शल्यक्रिया गरी मिलाइदियो। तर, पछि फेरि समस्या निम्तिएर अण्डाकोशको नसा सुकेछ। जुन सयौंमध्ये एकमा हुनसक्ने समस्या थियो। तर, त्यो बेला ती युवाले गाली गरेको डा. भोजराजले सुनाए। 

ती पुरूषको मृत्यु घोषणा गर्दाको त्यो क्षण
चिकित्सकीय पेशा २४सै घण्टा चनाखो भएर काम गर्नुपर्ने पेशा भएको डा. भोजराजले अनुभव सुनाए। उनी कयौं पटक राती नै दौडिएर अस्पताल पुग्नु परेको छ। उनले दश वर्षअघिको यस्तै एउटा घटना सुनाए। 

डा. भोजराजको टिमले त्रिवि शिक्षण अस्पतालमा करिब ४० वर्षका मिर्गौलासम्बन्धी समस्या भएका पुरूषको शल्यक्रिया गरेको थियो। पत्थरीको कारणले ती पुरूषको मिर्गौलामा समेत असर परेको थियो। जटिल किसिमको उनको त्यो शल्यक्रिया गरियो। शल्यक्रिया सफल भयो। 

त्यसपछि अस्पतालको ड्युटी सकेर डा. भोजराज घर गए। तर, राती नै उनलाई अस्पतालका एक स्वास्थ्यकर्मीले शल्यक्रिया गरिएका ती पुरूष बिरामीलाई गाह्रो भएको भन्दै बोलाए। नभन्दै तत्कालै उनी अस्पताल पुगे। 

अस्पताल पुगेर उनले बिरामीको स्वास्थ्य अवस्था हेरे। शल्यक्रिया गरिएका ती पुरूष बिरामीको रक्तश्राव भइरहेको थियो। शल्यक्रियापछि कतिपय बिरामीलाई यस्तो समस्या हुने उनले सुनाए। त्यसपछि डा. भोजराजले ती पुरूषलाई बचाउनका लागि जानेको र भएसम्मको चिकित्सकीय उपचार विधि अपनाएर बचाउने कोसिस गरे। आइसियुमा राखेर उनको उपचार गरियो। तर, दुर्भाग्य ती बिरामी पुरूषलाई बचाउन सम्भव भएन। हेर्दा हेर्दै उनले प्राण त्यागे।

ती पुरूषलाई बचाउन सम्भव नहुँदा डा. भोजराजलाई निक्कै दुःख लाग्यो। उनी निरास भए। अनि ती पुरूषको मृत्यु घोषणा गरेर युद्धमा हारेको सिपाही जस्तै भएर डा. भोजराज राती नै घर फर्किएर सुते। 

आमैको मृत्युको त्यो घटना
घटना १२ वर्षअघिको हो। करिब ७५ वर्षकी आमैलाई पत्थरीको समस्या थियो। उमेर र रोगको जटिलताका कारण शल्यक्रिया गर्न निक्कै जोखिम थियो। शल्यक्रिया नगरेको खण्डमा केही महिना ती आमैको आयु लम्ब्याउन सकिने देखिन्थ्यो। त्यसैले चिकित्सकको टिमले ती आमैको शल्यक्रिया नगर्न नै सल्लाह दिएका थिए। तर, ती आमै र उनका परिवारले जेसुकै भएपनि शल्यक्रिया गरिदिन अनुरोध गरे। 

त्यसपछि भने आमैलाई बचाउन सकिने आशाका साथ चिकित्सकको टिमले आमैको शल्यक्रिया सुरू गर्यो। शल्यक्रिया पनि सफल भयो। तर, शल्यक्रियापछि भने ती आमैको शरीरमा संक्रमण फैलियो। कसैगरेपनि संक्रमण निष्क्रिय हुन सकेन। केही दिनमै आमैले उपचारकै क्रममा अस्पतालमा प्राण त्यागिन्। त्यो घटना सम्झँदा उनको मन पोल्छ।

गोल्ड मेडल नै गोल्ड मेडल र जागिर
४५ वर्षअघि स्याङ्जामा जन्मिएका भोजराजले स्थानीय जनसेवा मावि डुम्रेभन्ज्याङबाट २०५२ मा एसएलसी गरे। त्यसपछि उनी अध्ययनका लागि काठमाडौं छिरे। अमृत साइन्स कलेज (अस्कल)बाट उनले आइएस्सी गरे। 

अध्ययनमा अब्बल भोजराजलाई डाक्टरी विषय अध्ययन गर्ने रहर थियो। नभन्दै नेपाल सरकारको छात्रवृत्ति कोटामै उनले एमबीबीएस अध्ययन गर्ने अवसर पाए। अनि भोजराज भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा २०५६ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। २०६१ मा उनले एमबीबीएस अध्ययन पूरा गरे। त्यो ब्याचमा उनी सर्वोत्कृष्ट समेत भए।

त्यसपछि उनले केही समय पाल्पाको मिसन अस्पतालमा काम गरे। त्यहाँ काम थालेको एक वर्ष पनि नपुग्दै डा. भोजराज लोकसेवा परीक्षामार्फत सातौं तहको मेडिकल अधिकृतका रुपमा सरकारी स्थायी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भइसकेपछि उनी पोष्टिङ भएर दार्चुला जिल्ला अस्पताल पुगे। दार्चुलामा उनले करिब डेढ वर्ष काम गरे। बढुवा भएर उनी आठौं तहमा पुगे। 

तर, डा. भोजराजको प्राथमिकतामा थप अध्ययन नै पर्यो। त्यसैले उनले करिब डेढ वर्षपछि सरकारी जागिर छाडे। अनि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा जनरल सर्जरी विषयमा स्नातकोत्तर तहको एमएस अध्ययन गर्न थाले। २०६४ मा भर्ना भएका उनको २०६६ मा तीन वर्षे एमएस अध्ययन सकियो। उनले एमएस पनि छात्रवृत्ति कोटामै अध्ययन गरेका रहेछन्। उनी एमएसमा पनि सर्वोत्कृष्ट नै भए।

एमएस अध्ययनपछि डा. भोजराजले विराटनगरको नोवेल मेडिकल कलेजमा पुगेर केही महिना काम गरे। तर, उनलाई अझै अध्ययनको भोक मरेकै थिएन। त्यसैले विराटनगरमा केही समय काम गरेपछि उनी महाराजगञ्ज चिकित्सा क्याम्पसमै २०६८ मा भर्ना भएर युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट सर्जरी विषयमा एमसिएच अध्ययन गर्न थाले। २०७१ मा उनको एमसिएच अध्ययन पूरा भयो। एमसिएच विशिष्टिकृत तहको विद्यावारिधि सरहको अध्ययन हो। एमसिएचमा पनि उनी नै सर्वोत्कृष्ट भए।
 
त्यसपछि भने डा. भोजराज महाराज चिकित्सा क्याम्पसमै उपप्राध्यापकका रुपमा करार जागिरे भए। पाँच वर्षपछि उनी स्थायी भए। अहिले पनि उनी त्यहीं ‘डिपार्टमेन्ट अफ युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट सर्जरी’ विभागमा उपप्राध्यापकको रुपमा कार्यरत छन्। 

त्रिवि शिक्षण अस्पतालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरू भएको र त्यसयता एक हजार भन्दा बढीको सफल प्रत्यारोपण भएको उनले सुनाए। त्यसैगरी शिक्षण अस्पतालमा दुरबिनको सहायताले मिर्गौला तथा पत्थरीको शल्यक्रिया समेत गरिने गरेको छ। स्वास्थ्य सेवा लिने बिरामीको चाप अत्यधिक भएको तर अस्पतालमा जनशक्ति तथा पूर्वाधार लगायतको कमीको समस्याले गर्दा बिरामीले दुःख पाउनुपरेको उनले नजिकबाट देखेका छन्। हाल भएको सेवालाई बिस्तार गर्दै रोबर्टीक सर्जरी र राष्ट्रिय स्तरको मिर्गौला केन्द्र नै सरकारी तहमा स्थापना हुन जरुरी देखिएको उनको मत छ।

मुख्यगरी चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने, त्रिवि शिक्षण अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि, उपचार गर्ने अनि चिकित्सा विषयसँग सम्बन्धित वैज्ञानिक खोज तथा अनुसन्धान गर्नु डा. भोजराजको पेसागत दैनिकी हो। उनी यी तीनै किसिमको काममा रमाउँछन्। त्यसैले त उनले चिकित्सा शास्त्र विषयको अध्ययन गरेका हुन्। डाक्टरी पेसालाई पनि उनी शिक्षण पेसाकै रुपमा विश्लेषण गर्छन्। 

सरकारी जागिरले परिवार धान्नै गाह्रो
नेपालबाट डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरू ठूलो संख्यामा विदेशिरहेकोप्रति भने उनलाई चिन्ता लाग्छ। माछालाई पनि समस्या नपरी पोखरीबाट हाम नफाल्ने नलाग्ने उदाहरण दिँदै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि नेपाल छोडेर विदेश जान मन नलाग्ने डा. भोजराजको अनुभव छ। त्यसैले त उनी नेपालमा नै बसेर काम गरिरहेका छन्। 

तर, विद्यावारिधि सरहको एमसिएच गरेका डा. भोजराजले सरकारी तलबले परिवारका सामान्य आवश्यकता धान्नै धौधौ हुने अनुभव सुनाए। त्यसैले सहज जीवन धान्नकै लागि मन नलागि नलागी र सकि नसकी भएपनि बाध्य भएर बिहान बेलुका निजी अस्पताल तथा क्लिनिकमा धाउनुपरेको उनले दुखेसो पोखे। ‘भोको पेटमा त सेवा दिन कठिनै हुन्छ नी,’ उनले भने।

पुष १३, २०८१ शनिबार १९:४८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।