फेरिएन प्रधानमन्त्री ओलीको दिनचर्या : भेटघाट, भाषण र निर्देशनमै बित्छ हप्ता दिन

फेरिएन प्रधानमन्त्री ओलीको दिनचर्या : भेटघाट, भाषण र निर्देशनमै बित्छ हप्ता दिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेपालका ४५औं प्रधानमन्त्री हुन्। यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन्। यसपटक प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेको समर्थनमा प्रधानमन्त्री उनीमा संविधान शंसोधन गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, विकास र समृद्धिको खाका तयार गरेर त्यसतर्फ मुलुकलाई लैजानुपर्ने लगायतका अभिभारा छन्। 

तर, उनी प्रधानमन्त्री भएपछिका कार्यहरू भने ठ्याक्कै त्यसको विपरीत छन्। बितेको एक हप्तामा प्रधानमन्त्री ओलीले उद्घाटन, भाषण र एक अर्कालाई व्यङ्ग गर्नैमै बिताएको देखिन्छ।

प्रधानमन्त्री ओली पुस ७ मा विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालय सभाको अनौपचारिक बैठकमा सहभागी भए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका थिए।

ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए। 

त्यसअघि गत मङ्सिर २७ मा  कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विस्तृत छलफल गर्न पुस ७ मा समय निर्धारण गरेका थिए। 

सिनेट सदस्यका सुझाव सुनेपछि ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

‘त्रिविको शैक्षिक क्यालेन्डर पालना हुनुपर्छ। अनौपचारिक बैठक भएपनि यसलाई निर्देशन नै मान्दा हुन्छ। विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ। मेरिटोक्रेसी कायम हुनुपर्छ। उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ। फेल भएकालाई फेल गराइनुपर्छ। मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो। को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो। नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैन,’ उनले त्यस बैठकमा यस्तै भाषण गरेर समय कटाए। 

यति मात्र होइन, प्रधानमन्त्री ओलीले त सत्ता गठबन्धन बनाउँदा नै देशमा सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने ‘एजेन्डासहित दुई ठूला दल कांग्रेस र एमाले मिलेको दाबी हरेक बैठकमा गर्दै आइरहेका हुन्छन्। यस्तै कुरामा यो हप्ता पनि ओली अछुत रहन सकेनन्।

प्रधानमन्त्री ओलीले पुस ९ मा पाकिस्तानका राजदूतसँग शिष्टाचार भेट गरे। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भयो। 

उनले कुनै दुई मुलुकबीचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे। 

त्यसपछि पुस ११ मा ओली २९औं विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्न पुगे। त्यहाँ पनि प्रधानमन्त्रीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने भनेर भाषण छाँटेर फर्किए।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुक्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए। 

पुस १२ मा तीन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री समक्ष सपथ लिए। प्रधानमन्त्री ओलीले नवनियुक्त उप-कुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरे। सोही दिन ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिए। 

त्यही दिन गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले प्रधानमन्त्री ओलीलाई कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्नुपर्नेलगायत सातसुत्रीय ध्यानाकर्षण पत्र बुझायो।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरियो।

जवाफमा प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको काम नगरी आश्वासन मात्र दिए। 

प्रधानमन्त्री ओली आज त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा सहभागी भए। त्यस दीक्षान्त समारोहमा पनि ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरेर फर्किए।

त्यसो त सरकार बनेको चार महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीका दिनहरू भाषण र उद्घाटनमै बितिरहेका छन्। त्यसमा पनि ओलीले हरेक पटक भाषण गर्न मञ्चमा उभिएर भन्ने वाक्य हो- सरकार ढल्दैन, कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ, डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु आदि-इत्यादि। 

पुष १३, २०८१ शनिबार १८:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।