एमालेबाट भीम रावलको निष्कासन ओलीको निरंकुशता, हामी स्वागतमा आतुर छौं : घनश्याम भुसाल

एमालेबाट भीम रावलको निष्कासन ओलीको निरंकुशता, हामी स्वागतमा आतुर छौं : घनश्याम भुसाल

काठमाडौं : एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले श्रमिकको भुसालले एमालेबाट भीम रावललाई निष्कासित गर्ने कार्य केपी ओलीको निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन्। 

शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुसालले चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति, विधि र पद्दतीमा हिँड्ने स्वाभिमानी नेता-कार्यकर्ता उनका दुस्मन हुने विषय नौलो नभएको बताए। 

उनले भने, 'भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे।'

भुसालले नेता रावललाई आफ्नो पार्टीमा स-सम्मान स्वागत गर्न तयार रहेको पनि बताए। 

'उहाँले के गर्नुहुन्छ भन्न सक्दिन। नेपाल राम्रो पार्टी नभएर दुःख पाएको हो। म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु,' महासचिव भुसालले भने।

भुसालले वर्तमान केपी ओली सरकार मजदुरको पक्षभन्दा पनि माफिया वा दलालहरूको पक्षमा रहेको आरोप लगाए। 

नेपाली राजनीतिमा गणतन्त्र पूर्णरुपले कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा बिचौलियाहरुको हालिमुहाली हुने अवस्था आएको बताउँदै उनले थपे, ‘संविधानको भावना विपरीत सरकारले नै माफियाको संरक्षण गर्दा श्रमजीवी वर्ग थप पीडित भएको र जाँतोमा पिसिएका छन्।’

पुष १३, २०८१ शनिबार १७:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।