जातका कुरा : दश भन्दा बढी एनजीओमा काम गरिसकेपछि सरस्वतीलाई लाग्यो- ‘दलितहरूको मुक्ति एनजीओले गर्दै गर्दैन’
‘नाम सरस्वती भएर के गर्नु, सरस्वती पूजामा उनै सरस्वती माताकै पूजा गर्न नपाएपछि!’
बैतडीकी सरस्वती नेपालीको अनुभूति हो यो। सरस्वती नाम भएकी उनको थर ‘नेपाली’ भएकै कारण स्कुल पढ्दा कहिल्यै सरस्वती पूजा गर्न पाइनन्।
०५८ अघिसम्म, बैतडीको सबैभन्दा ठूलो जगन्नाथ मन्दिरमा दलितहरूलाई प्रवेश बर्जित थियो। यसबाट बैतडीका दलित समुदाय उकुसमुकुस थिए। त्यही उकुसमुकुसले जन्मायो, ०५८ जेठको विद्रोह।
बैतडी सदरमुकाममा रहेको त्यो मन्दिर प्रवेश गर्न जिल्लाभरबाट दुई सय बढी दलितहरू भेला भएर मन्दिर पस्ने आँट गरे। नभन्दै, उनीहरूको त्यो आँट सार्थक भयो र मन्दिर प्रवेश गर्न सफल भए।
पुरनसिंह दयाल, करनसिंह दयाल र नरेश विकलगायतको नेतृत्वमा दुई सय जना जगन्नाथ मन्दिर प्रवेश सफल भएका थिए। त्यसैमध्येकी एक थिइन्- सरस्वती नेपाली।
मन्दिर प्रवेश सफल हुँदा त्यहाँका सिंगो दलित जमात खुसी थियो। सह-अस्तित्वको लडाईं जित्नु विश्वयुद्ध जित्नुभन्दा कम थिएन उनीहरूका लागि। तर, उनीहरूको खुसी २४ घण्टा पनि टिकेन।
भोलिपल्ट अछुतहरूले मन्दिर छोएको भन्दै गाउँका केही युवाहरूले सेनाको ब्यारेक, प्रहरी कार्यालय अनि जिल्ला प्रशासन कार्यालयकै अगाडि निर्घात कुटिए। सुरक्षाकर्मी तमासा हेरिरहे।
त्यही क्रममा सरस्वती घाइते भइन्। मन्दिर प्रवेशको नेतृत्व गर्ने पुरनसिंह दयाललगायतका दलित जमात त्यहाँबाट भाग्नुपर्ने स्थिति बन्यो।
सरस्वतीले तीन दिन सम्झिइन्, ‘यो त देउताले बनाएको हो नि! तिमीहरू त्यो मन्दिरमा किन गएका? भनेर प्लसटु पढ्ने साथीहरू पनि बोल्नै छाडे। पसलहरूमा अब त तिमीहरू बाहुन भइहाल्यौ नि! भनेर रासन दिन छाडे। गाउँलेहरूले झन्-झन् बहिष्कार गर्न थाले।’
०००
०६४ सालमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश आन्दोलनमा पनि अग्रपंक्तिमा थिइन्- सरस्वती। त्यो आन्दोलनमा पनि उनी घाइते भएर एक हप्ता अस्पताल बसिन्। मन्दिर प्रवेश गर्न रोक्ने त्यहाँका पुजारीलगायतले हानेको ढुङ्गाको चोटको दाग अहिलेसम्म पनि बायाँ खुट्टामा रहेको उनी सुनाउँछिन्।
बैतडीमै निम्लासैनी भगवती मन्दिर अनि उदयदेव मन्दिरमा दशैंमा राँगाको बलि चढाउने प्रचलन छ। निम्लासैनी मन्दिरमागैरदलितले लगभग सात सय बढी राँगाको बलि दिन्थे। अनि ती बलि चढाइएका राँगाको मासु चैँ दलितले दिइन्थ्यो।
आफूले मन्दिर पस्न चाहिँ नपाउने अनि त्यो बलि चढाइएको राँगा खान्न भन्दा पनि जबर्जस्ती खाइदिनुपर्ने? त्यहाँका दलितहरूले खान मानेनन्। त्यसलाई आफूहरूले ‘सिनो बहिष्कार अभियान’ नाम दिएको सरस्वती सम्झिन्छिन्।
त्यसरी काटिएका राँगाहरू खादिनँ भन्दा मन्दिर पक्षका गैरदलितले ती दलितहरूलाई राँगा बाँध्ने खम्बामा राखेर मरणासन्न हुने गरि कुटेको उनी बताउँछिन्। शिवनाथ गाउँका सिंगै गाउँलेहरू कुटिएका थिए।
‘सधैँ अन्याय र विभेद सहेर किन बस्ने?’ सरस्वतीले यस्तै सोचिन्। अनि त्यो घटनामा मुद्दा दायर गरिन्। जिल्ला अदालत बैतडीले ०६६ मा फैसला गर्दै दुई जनालाई जेल सजाय तोक्यो। त्यसमध्ये एकजना शिक्षक थिए। सरस्वतीले बुझे अनुसार जातीय विभेद विरुद्ध अदालतले फैसला गरेको त्यो नै पहिलो घटना हो।
पुरनसिंह दयाल, भुवनसिंह विश्वकर्मालगायतको नेतृत्वमा भएको उदयदेव मन्दिरको त्यो विद्रोह पछि भने गैरदलित आफैंले ती राँगाको व्यवस्थापन गर्न थालेका थिए।
सरस्वतीका विद्रोहको झिल्को र अधिकारप्राप्तिका लडाइँहरू यत्तिमै रोकिएका छैनन्। उनकै पहलमा सन् २००८ देखि २०११ सम्म सुकुम्बासी दलित समुदायलाई जमिन दिलाउने गरी संघर्ष गरिन्।
त्यसकारण ३७ घरपरिवारले दुई रोपनीका दरले जमिन र लालपुर्जा प्राप्त गरे। उनकै नेतृत्वमा ४४ हलिया पनि मुक्त भए। त्यसका अलावा डोली प्रथा, सिनो प्रथा, हलिया प्रथा, खलिया प्रथाविरुद्ध लडेकी छिन्।
दशरथ चन्दकै ५४ वर्षीय शिक्षकद्वारा मानसिक रूपमा कमजोर स्थानीय १४ वर्षकी दलित बालिकामाथि विद्यालयमै पटक-पटक बलात्कार गर्दै आएको र गर्भसमेत तुहाएको घटनामा सरस्वती नेपालीकै अगुवाइमा भएको साहसिक कानुनी लडाइँको फलस्वरुप पीडकलाई ११ वर्षको जेल सजाय तोकिएको थियो।
०००
४३ वर्षअघि बैतडीको दशरथचन्दमा जन्मिएकी हुन्- सरस्वती। स्थानीय दशरथचन्द प्राविमा पाँच कक्षासम्म पढेकी उनले त्यसपछि वीरेन्द्र उच्च माविबाट ०५८ मा एसएलसी पास गरिन्।
जगन्नाथ बहुमुखी क्याम्पसबाट ०६१ मा प्लसटु सक्काइन्। अनि त्यही क्याम्पसमा स्नातक दोस्रो वर्ष पढ्दै गर्दा उनको औपचारिक पढाइमा अल्पविराम लाग्यो। फेरि पनि अहिले काठमाडौंस्थित पद्मकन्या क्याम्पसबाट स्नातक पढिरहेकी छन्।
अफिसमा भएको पानी सारेर कहिल्यै पिउन पाइनन् सरस्वतीले। जतिसुकै प्यास लागे पनि सहेर बस्नुपर्थ्यो वा कार्यालय सहयोगीले सारेर अलग्गै भुइँमा राखिदिएको पानी पिउनुपर्थ्यो। बरू हाफ टाइममा हस्याङफस्याङ दौडिएर पानी पिउन घरै पुग्थिन् तर, स्कूलमा त्यसरी अपमान गरेर दिएको पानी कहिल्यै नपिएको सरस्वती सम्झिन्छिन्।
उनी सम्झन्छिन्, ‘मैले पानी पिउने जग छोएकै कारण कुटाइ खाएको छु। खाजा खाँदा पनि कहिलेकहीँ सरहरूले नै हिर्काउनुहुन्थ्यो।’
०००
०६७ मा सुकुम्बासीलाई जग्गा दिलाएपछि अब घर पनि दिनुपर्छ भनेर पहल गर्न थालिन् सरस्वती। तत्कालीन जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सुकुम्बासीलाई घर बनाउनका लागि जस्तापाता दिने अभियानमा लागिन्। त्यसअघि उनले बैतडीको दोगडाकेदार गाविसका ३७ घरपरिवारलाई लालपुर्जा र जग्गा दिलाइसकेकी थिइन्।
नभन्दै, सदरमुकामबाट जस्तापाता किनेर गाउँ लैजानको लागि जीपमा लोड हुँदैथियो त्यो जस्तापाता। लोड गर्ने व्यक्ति थिए नारायण ओड (दलित)।
लोड गर्ने क्रममा पसलेको अगाडि खस्यो त्यो जस्तापाता। तर, ती पसलेले छोरालाई चोट लागेको बहाना बनाएर नारायणलाई मरुन्जेल कुटे। जबकि उनका छोरालाई छोएकोसमेत थिएन। फेरिपनि ती पसलेले नारायणलाई बजारमा दर्जनौं मान्छेहरूको अगाडि कुटेको कुट्यै गरे।
उपस्थितहरू सडकमा तमासा हेरिरहे तर कसैले छुट्याएनन्। नारायणले शीरको टोपी निकालेर माफी माग्दा पनि उनीहरूले कुट्न छाडेनन्। अन्तिममा सरस्वतीले बीचमा पसेर आफूले कुटाइ खाइन् तर, नारायणलाई बचाइन्।
त्यो घटनाले सरस्वतीलाई लाग्यो, ‘अब सामाजिक कार्यमा अल्झिएर मात्र हुँदैन, राजनीति गर्नुपर्छ। किनभने दलितहरूको अन्तिम मुक्ति गर्ने भनेको राजनीतिले हो, एनजीओहरूले हैन।’
त्यसबेलासम्म उनले राष्ट्रिय दलित नेटवर्क, भूमि अधिकार मञ्च, सिएसाआरसीलगायत थुप्रै एनजीओमा रहेर काम गरिसकेकी थिइन्।
०००
सरस्वतीले ०७४ र ०७९ मा दशरथचन्द नगरपालिकामा उपमेयरको चुनाव लडिन् तर दुवै पटक हारिन्। उनलाई आफू दलित भएकै कारण चुनाव हारेको लाग्दो रहेछ।
सरस्वती आफैँ भन्छिन्, ‘म हैन, मेरो जात हार्यो।’
मतदाताहरू भन्थे- ‘मान्छे योग्य छ, काम गर्न सक्छ, उपमेयर बनाउनुपर्छ। तर यसले जिती भने दलितलाई नमस्कार गर्नुपर्छ, मन्दिरहरू बनाउँदा शिलान्यास र उद्घाटन गराउनुपर्छ अनि दलितले मन्दिर शिलान्यास गर्दा अशुभ भइहाल्छ नि!’
कतिसम्म भयो भने, वडा नम्बर ४ र ८ मा चुनाव प्रचारमा गएको बेला चिया खाएर गिलास नधोएको हुनाले भोट नदिइएको भन्ने मतदाता भेटिए। चुनाव प्रचारको क्रममा उनी दलितको घरमा मात्र बास बस्थिन्।
चुनावकै दौरानमा ‘तँ दलितकी छोरी किन टिकट ल्याइस्, तलाईं यो वडामा पस्न दिन्न’ भनेर सार्वजनिक रूपमा अपमान गरे सरस्वतीलाई, त्यो पनि आफ्नै कार्यकर्ताले। अनि उनलाई लाग्यो- दलितलाई नेता स्वीकार्छन्, नेतृत्व स्वीकार्दैनन्।
‘जति चुनाव लडेपनि जातले जित्न नदिने नै भयो’ भन्ठानेर गत निर्वाचनपछि उनी बैतडी जिल्लै छोडेर काठमाडौं आइन्। केही समय निष्क्रिय भइन्। फेरि सोचिन्, ‘अहो! चुनाव मेरो जातले हैन, कुरूप जात व्यबस्थाका हिमायतीहरूले चुनाव हारेका हुन्।’ यही सोचेर उनी अहिले फेरि राजनीतिमै सक्रिय छिन्।
यता, जातका कारण चुनाव हारे पनि उता अमेरिकाले यही कारण सम्मान गर्यो उनलाई। सीमान्तकृत समुदायको अधिकारका तथा जातीय विभेद विरुद्ध समानता र न्यायको लडाइँ लडेका कारण सरस्वतीलाई अमेरिकाको विदेश मन्त्रालयले ‘ग्लोबल एन्टिरेसिज्म च्याम्पियन अवार्ड २०२३’ बाट सम्मान गर्यो।
‘ग्लोबल एन्टी रेसिज्म् च्याम्पियन अवार्ड अमेरिकी सरकारले पहिलो पटक दिँदै रहेछ। यो पुरस्कार नेपालबाट मैले एक्लै पाउँदै थिएँ भने पाउने अन्य ५ देशमा ब्राजिल, माल्दोवा, ट्युनिसिया, पेरु र बङ्गलादेश थिए। नेपालबाटै पहिलोपटक पाउँदा खुसी नहुने कुरै भएन नि!’
त्यसो त सरस्वतीले सन् २०१८ मा पनि ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ पाइसकेकी थिइन्।
०५३ देखि एमालेनिकट अनेरास्ववियुबाट राजनीति सुरू गरेकी सरस्वतीले त्यसपछि मुक्ति समाजमा रहेर काम गरिन्। ०६३ सालदेखि एमालेको जिल्ला सदस्य र ०७८ जिल्ला उपसचिव भइन्। अहिले उनी पार्टीको प्रदेश सदस्य र अनेमसंघको स्थायी कमिटी सदस्य छिन्।
०००
सरस्वतीले ०६० मा राष्ट्रिय दलित नेटवर्क हुँदै अहिलेसम्म सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी), मानव अधिकार एलाइन्स, दलित समाज कल्याण संघ, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेकलगायतका १० बढी एनजीओहरूमा काम गरिसकेकी छन्। अहिले उनी दलित समाज विकास मञ्च, बैतडीको अध्यक्षका रूपमा काम गरिरहेकी छन्।
सरस्वतीको अनुभवमा दाताहरूले दिने मापदण्ड, बजेटलगायतका विषयमा जातव्यबस्था घुसाइन्छ एनजीओमा। संविधानले समावेशीता लागू गरेको भएर मात्र नभए त्यो पनि राख्न मन गर्दैनन् एनजीओहरू।
अहिले जति दलित, महिला, बालबालिका सीमान्तकृत समुदायको क्षेत्रमा काम गर्ने एनजीओ अनि आइएनजिओहरू छन्, प्राय सबैमा जातव्यबस्था हाबी भएको सरस्वतीको अनुभूति छ।
किनकि ती एनजीओ/आइएनजीओको कार्यसमितिमा आज पनि दलितलाई सह-सचिव भन्दा माथि लगिँदैन। उनका अनुसार संविधानले समावेशिता लागू गर्न भनेकाले सदस्यमामात्रै झारो टार्ने गरेका छन्।
‘संविधानले अनिवार्य गरेको कारण दलितहरूलाई राख्नुपर्ने नाममा बोर्डमा एक जना राख्दिने, जसले गर्दा बजेट ल्याउन सजिलो हुन्छ भन्नेमात्र हो। कर्मचारी पनि गैरदलितलाई बढी प्राथमिकता दिइन्छ। अनि दलितको मुद्दा कसरी सम्बोधन हुन्छ?’, उनी प्रश्न गर्छिन्।
‘तपाईंहरू किन नेतृत्वमा दलितलाई राख्न चाहनुहुन्न?’ बेला-बेला सरस्वतीले सोध्ने प्रश्नमा एनजीओमा काम गर्ने ठूलै अभियन्ताले जवाफ दिन्छन्- ‘तपाईं कति दलितको मात्र कुरा गर्नुहुन्छ? अब समग्रको कुरा गर्नुस्।’
दलित मुक्तिको लागि एनजीओको भूमिका प्रभावकारी छ त?
सरस्वती भन्छिन्- ‘दलितको उत्थानकै लागि भनेर मनदेखि काम गर्ने एनजीओ/आइएनजीओ भेटिँदैन।’
जातका कुरा:-
पुष १३, २०८१ शनिबार १२:३७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।