कथामा सुधार नहुँदा पनि कलाकारको पारिश्रमिक बढेको बढ्यै, बंगाली अभिनेताको हविगत हुनसक्ने समीक्षकको चिन्ता
काठमाडौं : कथा, पटकथा र संवादलाई केन्द्रमा नराखिएको आरोप नेपाली फिल्मलाई लाग्दै आएको पुरानो आरोप हो। पछिल्ला केही वर्षयता आएका अधिकांश फिल्मले यसलाई पुष्टि पनि गरेको छ। यसमा केही अपवाद फिल्महरू पनि छन्।
तर कथा, पटकथा र संवाद गतिलो नहुँदा पनि निर्माताहरू फिल्ममा पैसा खन्याइरहेका छन्। फिल्मका निर्देशकले सही पात्रलाई सही कलाकार राख्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापार र समीक्षामा परेको देखिन्छ।
कथाको कमजोरी लुकाउन फिल्मकर्मीले फेस भ्यालु बढी भएका कलाकार फिल्ममा राख्छन्। निर्माताहरू फिल्मको कथा भन्दा पनि स्टारडममा विश्वास गर्दा लगानी डुबाइरहेको यथार्थ हामी माझ छ।
त्यसको ताजा उदाहरणको रूपमा गत हप्ता प्रदर्शनमा आएर उत्रिसकेको फिल्म ‘बम बहादुर’लाई हेरे पुग्छ। फिल्मको कथा र पटकथा एकदमै कमजोर छ। बलियो बनाउने कोसिस पनि गरेको देखिँदैन। तर, मुख्य पात्रको रुपमा सौगात मल्ललाई राखेर उनैमाथि बढी भरोसा गरेको देखिन्छ।
सौगातले यसअघि अभिनय गरेको फिल्म ‘हात्तीछाप’मा कथा नै थिएन भन्दा फरक पर्दैन। सौगात मल्ल, दयाहाङ राई, विल्सन विक्रम राई लगायतका तगडा कलाकार राख्दा पनि फिल्म ढुस भयो। एउटा फिल्म लेख्न २५ लाख पारिश्रमिक लिँदै आएका प्रदीप भारद्वाजको यो कथामा दम थिएन।
फिल्म रिलिजपछि अभिनेता मल्लले यो फिल्मको कुनै कथा नभएको र आफूले चिच्याएर बोल्दा लाउण्ड सुनिएको बताएका थिए। निर्माता किरण नेपालीले यो फिल्ममा महँगा कलाकार राखे तर बलियो स्कृप्ट खोज्नमा कन्ज्युँस्याई गरेको देखिएको थियो।
यसमा मात्र होइन, यसअघि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’मा पनि यस्तै थियो। फिल्मको पटकथा भन्दा पनि कलाकारमा निर्माण टिमले ध्यान दियो। कथा तथा संवादमा तानतुन पारेर साउथका कलाकार राखेर बनाइएको फिल्मले सोचे अनुसारको दर्शक बटुल्न सकेन।
फिल्ममा अभिनेत्री रेखा थापादेखि साउथ इण्डियन कलाकार ब्रह्मानन्दम र अली, सुनिल वर्मासम्मलाई अभिनय गरे। फिल्मको सुटिङस्थल र कलाकार हेर्ने हो भने असाध्यै महँगा छन्। तर फिल्मको कथा र पटकथामा निर्माण टिमले ध्यान दिइको देखिएन। जति बलिया कलाकार थिए, त्यति नै मात्रामा कथा र पटकथालाई बलियो बनाउन सकेको भए फिल्मले उचाइ हासिल गर्नसक्थ्यो।
अर्को फिल्म ‘लण्डन टु पेरिस’को कथा पनि उस्तै कमजोर देखियो। कथावस्तु तथा संवाद भन्दा पनि कलाकारमाथि निर्माता तथा निर्देशकले भरोसा गरे। फिल्ममा टिकटकबाट भाइरल बनेकी गरिमा शर्मादेखि साम्राज्ञी आरएल शाहसम्मको अभिनय थियो। कमसल कथा र पटकथामा बलिया कलाकारमा गरिएको लगानी बालुवामा पानी सरह भयो।
अर्की महंगी अभिनेत्री पूजा शर्मा आफैँले निर्माण गरेको फिल्म ‘रावायण’को पनि कथा र पटकथा झुर नै थियो। यति मात्र होइन, उनको अभिनय रहेको अर्को फिल्म ‘दान्भी’को अवस्था पनि ‘रावायण’को भन्दा फरक थिएन। दार्जिलिङ र सिक्किममा फिल्म खिचिए पनि कथामा मेहनत नहुँदा जतिसुकै हल्ला फिँजाए पनि दर्शकले मनै पराएनन्।
एउटा कलाकारको पारिश्रमिक नै ६० लाखसम्म
फिल्मका निर्माताहरूले कथामा लगानी गर्दैनन् भन्ने पछिल्लो उदाहरणको रुपमा ‘हात्तीछाप’ र ‘बमबहादुर’लाई हेरे पुग्छ। यही सूचीमा पर्ने अर्को फिल्म हो- ‘फर्की फर्की’। फिल्ममा सर्वाधिक महंगा मानिएका कलाकार अनमोल केसीले ५० लाख पारिश्रमिक लिएर त्यसको कर नै तिरे। तर, स्टोरीका कारण फिल्म सुपरफ्लप भयो।
यता माग्ने बुढाका नामले परिचित केदार प्रसाद घिमिरेको पारिश्रमिक पनि अचाक्ली महंगो भएको छ। आफूले अनमोलको भन्दा १० लाख बढी लिएको उनी आफैँले स्वीकारे। निर्माताहरूले ‘मायाले दिएको’ भन्दै बढी पारिश्रमिक लिएको उनको भनाइ छ।
उता कलाकार विपिन कार्कीले पनि फिल्म ‘तेल भिसा’मा ५० लाख रुपैयाँ दिएको चर्चा छ। फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री ऋचा घिमिरेलाई यसबारे सोधिएको प्रश्नमा उनले भनेकी थिइन्, ‘उहाँको काम हेर्दा त्यति (५० लाख रुपैयाँ) पनि कम हुन्छ।’
तर, फिल्म एउटा अभिनेताको भरमा मात्रै चल्दैन। यसका लागि निकै कलाकार तथा प्राविधिकहरू चाहिन्छ। तर, एउटै कलाकारलाई सिंगो फिल्म बन्ने पैसा बुझाएपछि निर्माताको ढाड नभाँचिएला त!
के भन्छन् समीक्षक?
केही फिल्मकर्मी भने नेपाली फिल्मको अवस्था जटिल बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्छन्। फिल्म समीक्षक, लेखक तथा निर्देशक प्रकाश सायमी नेपाली फिल्मका निर्मातालाई लखट्ने काम भइरहेको बताउँदै बंगली फिल्मका अभिनेता उत्तम कुमारको जस्तो अवस्था नेपालमै आउनसक्ने संकेत गरे।
उनले भने, ‘नेपाली फिल्मका कलाकारहरूले पैसा बढाएका बढाएकै छन्। पहिला यस्तै भएको थियो बंगालीमा उत्तम कुमारको। फिल्म चले पनि नचले पनि उसले पैसा बढाए। निकैपछि उत्तम कुमार ढल्यो। उत्तम एक जना मात्रै ढलेन उसँगै सिंगो फिल्म उद्योग नै ढल्यो। हाम्रो फिल्म उद्योगमा पनि त्यस्तै देख्छु।’
चलेका भनिएका फिल्मले नेपाली बजारबाट औषतमा छ करोड रुपैयाँ उठाउने भएकाले त्यही अनुसारको फिल्म बनाउन निर्माताहरूलाई उनको सुझाव छ।
‘हाम्रो फिल्म क्षेत्रमा चलेका भनिएका फिल्मले जतिसुकै कराए, चिच्याए, रोएर चलाए पनि उठाउने भनेको औसतमा पाँचदेखि छ करोड हो,’ उनले थपे, ‘पूर्णबहादुरको सारङ्गगी यसमा अपवाद बन्यो।’
२०५३ सालमा राजेश हमालले एउटा फिल्म खेलेको एक लाख हाराहारी लिन्थेँ। उनी चल्दा पनि पैसा नबढाएको भनेर टिप्पणी हुन थालेपछि उनले थप एक लाख बढाएका थिए।
अहिलेको अवस्थामा भने एउटा फिल्म हिट भएपछि अर्को फिल्म फ्लप भए पनि पारिश्रमिक बढाउने प्रवृत्ति सबैभन्दा घातक भएको उनी बताउँछन्।
‘एउटा फिल्म हिट भएपछि अर्को फिल्म चलोस नचलोस् पारिश्रमिक बढाइदिने। यसले गर्दा निर्माताहरूको भागाभाग जस्तो भइरहेको छ,’ उनले अगाडि भने, ‘एउटा फिल्ममा लगानी गरेको निर्माताले अर्को फिल्ममा लगानी गर्ने सकेन। निर्माता दोहो¥याएर आउन सकेकै छैनन्।’
नेपाली फिल्म उद्योगमा कलाकार र निर्माताबीच फिल्म चलेपछिको सेयरमा काम हुनुपर्ने सायमी बताउँछन्। फिल्म चल्दा सेयर बाँडफाँडबाट काम गर्दा कसैलाई मर्का नपर्ने उनको भनाइ छ।
‘निकै वर्षअघि हलिउडमा फिल्म चलेको आधारमा सेयर बाँडफाँड गरेर प्रोफिडको आधारमा दिने चलन थियो,’ उनले भने, ‘त्यसरी त्यहाँको फिल्म उद्योग चलेको हो। त्यसको सुरुवात अहिले हाम्रो उद्योगमा हुनुपर्ने हो खासमा। एउटा कलाकारले ६० लाख लिएको चर्चा छ। जुन बजेट अहिले एउटा नेपाली फिल्म निर्माण गर्दाको हो। यतिको पैसा लिएर फिल्म खेल्नेले सोही अनुसारको प्रोफिट निर्मातालाई दिनुपर्ने हो, त्यो छैन।’
कलाकारले पारिश्रमिक बढाएकै कारण पनि निर्माताहरू भगाउने काम भइरहेको उनको भनाइ छ। एउटा फिल्म निर्माण गरेको निर्माताले अर्को फिल्म बनाउन नसक्ने र पलायन हुने अवस्था सिर्जना भइरहेको सायमी बताउँछन्। नेपाली फिल्ममा कथामा मेहनत र कलाकारले आफ्नो क्षमता अनुसारको पारिश्रमिक लिनुपर्नेमा समेत बताए।
पुष १३, २०८१ शनिबार ११:१९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।