देशैभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार देशैभर वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
पश्चिमी न्यूनचापीय मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना छ। त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएको छ।
पुष १३, २०८१ शनिबार ०७:४३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।