मध्यपुर महोत्सव : दाफा भजनसहित २६ प्रकारका बाजा लाइभ, २५ प्रकारका सांस्कृतिक नाच

मध्यपुर महोत्सव : दाफा भजनसहित २६ प्रकारका बाजा लाइभ, २५ प्रकारका सांस्कृतिक नाच

काठमाडौँ :  भक्तपुरमा गाइने परम्परागत भजनमध्ये दाफा भजन स्थानीय अनि नेवारी संस्कृतीबारे जानकारका लागि नयाँ हैन। तर यो अहिले युवापुस्तामाझ पनि लोकप्रिय भयो। यसलाई युवामाझ लोकप्रिय बनाउने काम गरे गायक कुमा सागरले। उनले आफ्नो गीतमा दाफा भजनको धुन मिसाएपछि यसको लोकप्रियता फैलियो। 

शुक्रवारबाट सुरु भएको मध्यपुर महोत्सवमा दाफा भजन लाइभ सुन्न सकिन्छ। स्थानीय कला, संस्कृति, परिकार र मौलिक पेसा प्रवर्द्धन गर्न  मध्यपुर ठिमी नगरपालिकाले सुरु गरेको महोत्सव तीन दिनसम्म चल्नेछ। शुक्रवार महोत्सवको उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए।

महोत्सवमा स्थानीय कला, संस्कृति, परिकार, उत्पादन र मौलिक पेसाको प्रवर्द्धन गर्ने, ऐतिहासिक जात्रा र पर्वबारेमा जानकारी प्रदान गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

ठिमीको शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोडे र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रमा महोत्सवका कार्यक्रमहरू सञ्चालन हुने छ। महोत्सवमा विभिन्न तीन सय ४७ स्टल राखिएको छ।

त्यस्तै २५ प्रकारका परम्परागत नाच, जस्तै अष्ट मातृका नाच, ईन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन गरिनेछ। धिमे बाजा, गुँला बाजा, बाँसुरी बाजा र दाफा भजनलगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू पनि प्रदर्शन गरिनेछ।

नेवारी संस्कार र भेसभुसा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनी गरिनेछ। यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो।

पुष १२, २०८१ शुक्रबार १८:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।