स्वास्थ्य सेवा विभागमा पाँच करोड कमिसनको सेटिङ, स्पेशिफिकेशन लक्ड गरेर तीन मेसिनको टेन्डर
काठमाडौं : स्वास्थ्य सेवा विभागले निश्चित सप्लायर्स कम्पनीलाई टेण्डर दिनेगरी करिब साढे १८ करोडको तीन वटा मेसिनको टेण्डर आह्वान गरेको देखिएको छ।
विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)का प्रमुख डा. सुरेन्द्र चौरासियाले सरुवा हुनुअघि नै स्पेशिफिकेसन लक्ड गरेर चाहेकै कम्पनीलाई सेटिङमा टेन्डर दिनेगरी प्रक्रिया अघि बढाएको देखिएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चौरासियालाई विभाग अन्तर्गतकै नर्सिङ महाशाखामा दुई हप्ताअघि सरुवा गरेका थिए। तर, त्यसअघि नै उनले टेन्डरको चाँजोपाँचो मिलाइसकेका थिए।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’, र सात करोड २० लाखमा ‘सिटीजी एण्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेण्डर प्रक्रिया अगाडि बढाएको हो।
‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’मा कम्तिमा एक करोड, ‘ऐनस्थेसिया मेसिन’मा दुई करोड र ‘सिटीजी एण्ड इलेक्ट्रो सर्जिकल युनिट’मा दुई करोड गरी पाँच करोड भन्दा बढी कमिशनको खेलमा खरिद प्रक्रिया अघि बढेको जानकार स्रोतको दाबी छ।
यती ठूलो रकमका टेण्डरमा समेत अन्तर्राष्ट्रिय खरिद प्रतिष्पर्धा (इन्टरनेशनल कम्पिटिटिभ बिडिङ/आईसीबी)लाई निषेध गर्दै नेशनल कम्पिटिटिभ बिडिङ (एनसीबी) खरिद विधि अपनाइएबाटै खरिदमा कसिमनको खेल रहेको देखिन्छ।
टेन्डर कागजातमा यी तीनै मेसिन खरिदको लागि आधिकारिक सम्पर्क व्यक्ति व्यवस्थापन महाशाखाका प्रमुख पवन रायमाझी तोकिएका छ्न। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा पनि मेसिन खरिदमा जिम्मेवार कर्मचारी हुन्।
महानिर्देशकको अन्तिम निर्णयबिना व्यवस्थापन महाशाखाबाट हुने खरिद प्रक्रिया अघि बढ्नै सक्दैन। चौरासियालाई हटाएपछि उनको ठाउँमा हाल दयाकृष्ण पन्त रहेकाले चौरासिया लगायतले अगाडि बढाएको यो टेण्डरमा उनको निर्णय महत्वपूर्ण हुन्छ।
व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दिपक अधिकारी समेत लामो समयदेखि सेटिङ अनुसारको टेण्डर कागजात बनाउन माहिर कर्मचारीका रूपमा चिनिँदै आएका छन्। विभागका स्थायी बायोमेडिकल इन्जिनियर आशिस चौहान सेटिङ अनुसारको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै सप्लायर्सलाई टेण्डर पारिदिन सहजीकरण गरिदिने माहिर र बदनाम खेलाडी हुन्।
चार करोडमा दुई वटा ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’ निश्चित कम्पनिलाई टेण्डर दिनेगरी सेटिङ गरेको देखिएको छ।
उकेराको प्रारम्भिक अध्ययनमा जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’को नेपाली सप्लायर्सलाई टेण्डर दिनेगरी स्पेशफिकेशन नै लक्ड गरेर ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’ खरिद प्रक्रिया अगाडि बढाएको देखिएको हो।
जानकारका अनुसार ‘कार्ल स्टोर्ज’ कम्पनीको नेपाली एजेन्टका मालिक मेडिकल व्यवसायी अमर श्रेष्ठ हुन्। सामान्यत उनले ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि (एचएमटी)’बाट टेण्डर प्रस्ताव गर्ने गरेको देखिन्छ। तर, उनले अन्य फर्महरूको प्रयोग गरेर पनि टेण्डर प्रस्ताव गर्न सक्छन्।
जापनीज कम्पनी ‘ओलम्पस’लगायत अन्य उत्पादक कम्पनीसँग पनि ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’को मेसिन भएको एक बायोमेडिकल इन्जिनियरले जानकरी दिए।
तर, ‘कार्ल स्टोर्ज’को स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेर ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’को टेण्डर गरिएकाले ‘कार्ल स्टोर्ज’कै नेपाली सप्लायर्सलाई टेण्डर दिने रणनीति देखिन्छ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८१ मंसिर २३ (२०२४, डिसेम्बर ८) मा चार करोडमा दुई सेट ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’ खरिद गर्नेगरी टेण्डर आह्वान गरेको हो।
‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’ खरिदका लागि पुस १२ गते शुक्रबार (डिसेम्बर २७) लाई प्रिबिड मिटिङ तोकिएको छ। प्रि-बिड मिटिङपछि सप्लायर्स कम्पनीले चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्।
तर, यो टेण्डरको स्पेशिफिकेशन नै लक्ड गरिएकाले प्रिबिड मिटिङपछि संशोधन भइहालेको खण्डमा समेत त्यो संशोधन कर्मकाण्डीमात्रै हुनसक्छ। टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस २३ (२०२५, जनवरी ७) लाई तोकिएको छ भने सोही दिनलाई टेण्डर खुल्ने मिति तोकिएको छ।
महाशाखाले टेण्डर आह्वान गरेको ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस/जी/एनसीबी-३२/एमडी/२०८१-८२’ हो।
‘४के-३डी ल्याप्रोस्कोपिक स्टिम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.७’ मा ‘युएसएफडीए’ मापदण्ड प्रमाणित भएको हुनुपर्ने सर्त राखिएको छ। प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदा हेर्दा ‘कार्ल स्टोर्ज’लागि मात्रै मिल्नेगरी बुँदाहरू लक्ड गरेको देखिन्छ।
सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’
त्यसैगरी महाशाखाले मंसिर २३ गते सात करोड २० लाखको ‘ऐनस्थेसिया मेसिन’मा पनि खरिद गर्नेगरी टेण्डर आह्वान गरेको छ। मेसिन खरिदका लागि पुस १२ गते प्रिबिड मिटिङ तोकिँदा टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति भने पुस २३ गते छ। सोही दिनलाई टेण्डर खुल्नेछ।
महाशाखाले टेण्डर आह्वान गरेको ‘एनेस्थेसिया मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस/जी/एनसीबी-३५/एमडी/२०८१-८२’ हो।
एक बायोमेडिकल इन्जिनियरले भारतीय उत्पादक कम्पनी ‘बीपीएल मेडिकल टेक्नोलोजिज्’को ‘एनेस्थेसिया मेसिन’को क्याटलगसँग मिल्नेगरी स्पेशिफिकेशन बनाएर उसैको नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर प्रालिलाई टेण्डर दिने रणनीतिअनुसार नै टेण्डर प्रक्रिया अगाडि बढेको बताए। लुम्बिनी हेल्थ केयरका मालिक पोष्टराज ज्ञवाली हुन्।
प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३९’ मा ‘दी वर्कस्टेशन मस्ट ह्याभ इन्टग्रेटेड बुईल्ट-इन भेन्टिलेटर केबल अफ डेलिभरिङ्ग प्रिसाइज भेन्टिलेशन फर एडल्ट टु पेडियाट्रिक पेशेन्ट्स वीथ एड्भान्स्ड प्रपोर्शनल सोलेनोइड भल्भ टेक्नोलोजी’ उल्लेख छ। जुन बीपीएलकै क्याटलगमा भएकै वाक्य हो। यसका अलावा अन्य बुँदाहरू पनि यसैगरी लक्ड गरेको देखिन्छ।
‘एनेस्थेसिया मेसिन’ मेसिनको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘७.२’ मा ‘इयु-सिइ’ सर्टिफिकेट भएको वा ‘युएस-एफडिए (५१०के)’ सर्टिफिकेट भएको हुनुपर्ने भन्ने शर्त राखिएको छ।
यी तीन टेण्डरमध्ये कतै सिई र युएसएफडीए जस्ता मापदण्ड राखिएको छ। अनि ‘एनेस्थेसिया मेसिन’मा चाहीँ ‘इयु-सिइ अर युएस-एफडीए’ राखिएको छ। यसले समेत यी टेण्डरमा पारदर्शिताको प्रश्न उठाउने आधार प्रशस्तै देखिन्छ।
सात करोडको ‘सिटीजी एण्ड इलेक्ट्रो सर्जिकल युनिट’
त्यसैगरी महाशाखाले सात करोड २० लाखमा मंसिर २३ गते नै ‘सिटीजी एण्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि गरिएको टेण्डर प्रक्रिया पनि शंकारहीत छैन।
जानकार स्रोतका अनुसार विभागका चौरासिया र मेडिकल सप्लायर्स शशी श्रीवास्तवको सेटिङमा ‘सिटीजी एण्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेण्डर भएको हो।
एउटै टेण्डर कागजातमा दुई वटा मेसिनको छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन बनाएर ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी)’ र ‘इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन)४०० वाट’को टेण्डर आह्वान गरिएको छ। जसमध्ये ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी) २५ सेट’ र ‘इलेक्ट्रोसर्जिकल युनिट’ ५० सेट खरिदका लागि टेण्डर आह्वान भएको हो।
‘सिटीजी’ र ‘इलेक्ट्रोसर्जिकल युनिट’मध्ये एउटा मेसिनमा मात्रै लक्ड भए पनि दुवै टेण्डर एउटै सप्लायर्स कम्पनीले टेण्डर पाउँछ। मेसिन खरिदका लागि पुस १२ गते प्रिबिड मिटिङ तोकिँदा टेन्डर प्रस्ताव पुस २३ गतेभित्र गरिसक्नुपर्ने भनिएको छ। सोही दिनलाई टेण्डर खुल्ने मिति तोकिएको छ।
महाशाखाले टेण्डर आह्वान गरेको ‘सिटीजी एण्ड इलेक्ट्रो सर्जिकल युनिट’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस/जी/एनसीबी-३८/एमडी/२०८१-८२’ हो।
‘सिटीजी’को प्राविधिक स्पेशिफिकेशनको ‘४.९’ मा ‘इट स्याल ह्याभ कलर टच स्कृन डिस्प्ले अफ ७ इन्च अर मोर’ उल्लेख छ भने ‘४.१०’ मा ‘इट सुड ह्याभ फ्यासिलिटी टु स्टोर डेटा अफ ७२ आवर अर मोर’ लेखिएको छ।
यी दुवै बुँदा लक्ड गरिएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। ‘४.१०’ मा ७२ घण्टाको डेटा स्टोरेज अनिवार्य गर्नुले नै सेटिङ देखिएको ती इन्जिनियरको भनाइ छ।
‘इलेक्ट्रो सर्जिकल युनिट’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘७.२’ मा ‘सिइ (९३/४२ इइस डाइक्रेक्टिभ्स) एण्ड युएसएफडीए अप्रुभ प्रोडक्ट सर्टिफिकेट’ उल्लेख छ। यसको अर्थ ‘सिइ र युएसएफडीए’ दुवै मापदण्डबाट प्रमाणित भएको हुनुपर्ने शर्त राखिएको छ।
‘सिई अर युएसएफडीए’ राखिएको भए धेरै सप्लायर्सले खरिदमा प्रतिष्पर्धा गर्न सक्ने भए पनि निश्चित कम्पनीलाई नै दिने गरी यसको प्राविधिक स्पेशिफिकेशनमा ‘सिई एण्ड युएसएफडीए’ राखिएको देखिन्छ।
पुष १२, २०८१ शुक्रबार १४:१६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।