अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतका खेलाडीले किन लगाए कालो ब्यान्ड?
काठमाडौं : अष्ट्रेलियासँगको पाँच खेलको टेस्ट सिरिजको चौथो खेलको दोस्रो दिन भारतीय टोलीले हातमा कालो ब्यान्ड लगाएर खेलिरहेका छन्।
बिहीबारदेखि शुरु भएको चौथो टेस्टमा पहिलो दिन उनीहरुले कालो ब्यान्ड नलगाए पनि दोस्रो दिनमा भने यस्तो गरेका हुन्।
भारतीय क्रिकेट टोलीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लगाएर मैदानमा खेलेको हो। सिंहको बिहीबार राति निधन भएको थियो।
अष्ट्रेलियाले भारतविरुद्ध पहिलो इनिङ्समा चार सय ७४ रन बनायो। पहिलो दिन तीन सय ११ रन बनाएर ६ विकेट गुमाएको टोलीले दोस्रो दिनमा थप एक सय ६३ रन थप्यो।
दोस्रो दिनको सुरुवातमै स्टिभ स्मिथले आफ्नो शतक पूरा गरे। उनले एक सय ४० रन बनाउँदा कप्तान प्याट कमिन्सले ४९ रन बनाए।
त्यसका अलावा पहिलो दिनमा डेब्युटेन्ट साम कन्स्टासले ६०, उस्मान ख्वाजाले ५७ र मार्नस लाबुसचेनले ७२ रन जोडेका थिए।
भारतका लागि जसप्रित बुमराहले चार, रविन्द्र जडेजाले तीन, आकाश दीपले दुई तथा वासिङ्टन सुन्दरले एक विकेट लिए।
भारतले अहिले दुई विकेट गुमाएर ब्याटिङ गरिरहेको छ।
पहिलो विकेटको रुपमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले दोस्रो विकेटको रुपमा केएल राहुललाई गुमायो। अहिले क्रिजमा यशस्वी जयसवाल र विराट कोहली छन्।
पुष १२, २०८१ शुक्रबार १२:००:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।