उकेरा टप फाइभ : गभर्नरको शैक्षिक योग्यतामाथिको कानुनी प्रश्नदेखि जितेन राईको हिजोको कुरासम्म
काठमाडौं : अदालतको आदेश लत्याउँदै एकलौटी रूपमा निर्वाचन गरेर नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा तेहेरिने जीवनराम श्रेष्ठको योजनामा सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ। श्रेष्ठले आफूखुसी विधान संशोधन गरेर एक पदमा दुई पटक बाहेक उम्मेदवार हुन नपाउने प्रावधान सच्याउँदै निर्वाचन प्रक्रिया सुरु भइसकेको बिचैमा चार नयाँ सङ्घलाई सदस्यता दिएका थिए। अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्षमा भने शनिवार निर्वाचन हुँदै थियो।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराए।
गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा-८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाग तस्करीको आशंकामा एक जनालाई पक्राउ गरेको हो। मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ।
अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विपक्षी टिमका खेलाडीलाई जानाजान धक्का दिएपछि विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ। अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश धक्का दिएपछि आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ। एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिँदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ।
सिरियाका विद्रोही नेतृत्वको सरकारी अधिकारीहरूले पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूले गरेको आक्रमणमा गृह मन्त्रालयका १४ सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन्। यस आक्रमणमा १० जना घाइते पनि भएका छन्। मंगलबार टार्टस बन्दरगाह नजिकै यो हमला भएको अधिकारीहरूले बताए। रिपोर्टका अनुसार सुरक्षाकर्मीहरू सिरियाको कुख्यात सैदनाया जेलमा संलग्न एक पूर्व अधिकारीलाई पक्राउ गर्न गएका थिए, जब उनीहरूमाथि आक्रमण भएको थियो।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
मालिङ्गो काटिनी लै लै’, ‘पूर्वै धरान’, ‘जन्म त गाउँमै को कहाँ हो मरण’, ‘घामै छायाँले’ जस्ता चर्चित गीतमा स्वर भरेका स्रष्टा हुन्- जितेन राई। चार दशकअघि उनले गाएका गीतहरू अहिले पनि रियालिटी शोमा गाइन्छन्, टिकटक बनाइन्छन् र सामाजिक सञ्जालमा आउने भिडियोमा समेत प्रयोग गरिन्छन्। झापामा उनको भेट नेपाल र दार्जिलिङका संगीतकारहरूसँग भयो। त्यही संगतले रेडियो नेपालको स्वर परीक्षा दिए। पास गरेपछि त्यही साल उनले रेडियो नेपालको ‘म्युजिक डिरेक्टर’को जिम्मेवारी सम्हाले। उनै गायक तथा संगीतकार राईले आफ्ना जीवनका अनुभव उकेराको नियमित कोलम ‘हिजोका कुरा’मा यसरी सम्झिए :
पूरा समाचार: स्रष्टा जितेन राईको हिजोको कुरा : धानको भात ख्वाउन बुवाले झापा झारे, दरबारमा पहुँच नपुग्दा जागिर स्थायी भएन
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षको कार्यकाल चैत २६ गते सकिँदैछ। तर उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिट अहिलेसम्म किनारा लागेको छैन। २०८० पुस १२ मा सर्वोच्च अदालतमा अधिवक्तात्रय दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर हुने शैक्षिक योग्यता नै नपुगेको भन्दै रिट दर्ता गरेका थिए। देशको अर्थ व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण पदमा रहेका व्यक्तिको योग्यतामाथि कानुनी रूपमा उठेको प्रश्न एक वर्षदेखि सर्वोच्चमै अड्किएको छ।
पूरा समाचार: गभर्नरको शैक्षिक योग्यतामाथिको कानुनी प्रश्न, अवकाशको समय आइसक्यो, तर रिट टुंगिने संकेत छैन
गएको पुस २ देखि कर्णाली प्रदेश सरकारले ६ वर्षदेखि दलित विधेयक अलपत्र पारेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि दलित अधिकारकर्मीहरू धर्नामा बसिरहेका छन्। प्रभावकारीरुपमा दलित विधेयक पास गर्नुपर्ने मागसहित अधिकारकर्मीहरू धर्नामा छन्। दलित सशक्तीकरण विधेयक अहिले प्रदेश सभाको सचिवालयमा दर्ता भई सामाजिक विकास समितिमा अड्किएको छ। उक्त समिति अहिले सभापतिविहिन छ। २९ प्रतिशत दलित समुदाय रहेको कर्णाली प्रदेशमा दलित विधेयकलाई सशक्त रुपमा पास गर्नुपर्ने मागसहित धर्नामा बसेको दलित अधिकारकर्मी गम्भीर सिं भुलले बताए।
पूरा समाचार: कर्णालीमा किन आन्दोलनमा छन् दलित समुदाय ?
अध्यक्षमा तेहेरिन विधान संशोधन गराएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अदालतको आदेश विपरीत पेलेर निर्वाचन गर्ने तयारी गरेका छन्। विधा अनुसार एक वर्षअघि नै उनको कार्यकाल सकिए पनि कोभिड १९ र पेरिस ओलम्पिकलाई देखाएर उनले एक वर्ष कार्यकाल थपेका थिए। जसरी पनि ओलम्पिक कमिटीको नेतृत्वमै बस्न उनले विधानमा रहेको अध्यक्ष र महासचिव दुई कार्यकाल मात्र रहने प्रावधानै संशोधन गराए।
पूरा समाचार: ओलम्पिक कमिटीमा जीवनरामको अवैध काम, निर्वाचनकै बिचमा थपे चार नयाँ संघ, मन्त्रालय र राखेप रमिते
पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेका डा भीम रावलले अब एमालेमा रहने आफ्नो ढोका बन्द भएको बताएका छन्। एमालेबाट निकालिसकेपछि अब एमालेमा रहने भन्ने प्रश्नै नहुने उनको तर्क छ। एमालेले बुधबार बसेको सचिवालय बैठकबाट पूर्वउपाध्यक्षसमेत रहेका रावललाई संगठित सदस्यबाटै निकालेपछि अब उनको राजनीति कसरी अघि बढ्ला?
पूरा समाचार: 'केपी ओलीले एमालेबाट निकालेका' भीम रावल अब के गर्छन् ?
पुष ११, २०८१ बिहीबार २१:५२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।