सोनु निगमलाई एयरपोर्टदेखि पशुपतिसम्मै डोर्याएका सन्दीप क्षेत्रीलाई केको आश रहेछ कुन्नि !
काठमाडौं : नेपाली अभिनेता अभिनेत्रीले बलिउड तथा हलिउडको सि ग्रेडको फिल्म खेल्दा पनि निकै उत्साहित हुन्छन्। जति उत्साहित उनीहरूले नेपालमै बनेको ए ग्रेडको फिल्ममा खेल्दा देखिंदैन। तर, बलिउडका कलाकारहरू नेपाल आए भने फोटो खिच्नदेखि बाटोमा डोर्याउनसम्म जाने उनीहरू नै हुन्छन्।
बुधबार भारतीय गायक सोनु निगम नेपाल आए। उनी क्रिसमस डेको छेको पारेर काठमाडौंको हायात होटलको चउरमा प्रस्तुति दिनेदेखि पशुपतिनाथ दर्शन गर्नसम्म गए। नेपालमा आफ्नो पहिलो कन्सर्टका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका उनलाई लिन केही युट्युबर विमानस्थलमै पुगेका थिए। विमानस्थलमा आफूले पाएको स्वागतबाट सोनु गदगद देखिए।
उनको प्रस्तुति हेर्न/सुन्न हजारौं सर्वसाधारणमात्र थिएनन्, अधिकांश नेपाली सेलिब्रिटीहरू हायात चउरमा दर्शकका रूपमा पुगेका थिए। नभन्दै, सोनुले पनि आफ्ना हिट गीत गाएर ३ घण्टा कटाए।
उनले नेपाली दर्शकलाई आफूतिर केन्द्रित गर्न पहिलो गीत ‘उकाली ओराली गर्दै’बाट सुरू गरेका थिए। पाँच हजारदेखि ६० हजारसम्म तिरेर उनको प्रस्तुति हेर्न गएका नेपाली दर्शक आफ्नै तालमा नाच्दै थिए।
सोनुले एक दशक अघि नेपाली फिल्ममा गाएको गीतको शब्द भने बिर्सिएछन्। उनले आफ्नै सदाबहार हिन्दी गीत ‘शेहजादा’बाट लयमा आउन कोसिस गरे। सोनुले ‘अल इज वेल’, ‘ये दिल दिवाना’, ‘पापा मेरी जान’, ‘मुझसे सादी करोगी’, ‘अभि मुझ मे कही’, ‘जिनके है चार दिन,‘कल हो ना हो’ गाएर सुनाए।
विमानस्थलबाट हायात र पशुपति हुँदै एयरपोर्ट पुर्याउने उही नेपालका कमेडियन सन्दिप क्षेत्रीले डोर्याइरहे। उनले विमानस्थलमा स्वागत गर्दै नेपाली ढाका टोपी लगाइदिए।
बिहिबार पशुपतिनाथको दर्शन गर्न पुगेका सोनुको साथमा उनी देखिए। तर, बुधबारको भन्दा फरक लुक्समा। त्यहाँ उनलाई गाइड गर्नेदेखि बाटो कता हो, के हो भनेर इसारा गरिरहेका थिए सन्दीप। सोनु आफैं पनि सन्दिपकै इसारामा हिँडिरहेका देखिन्थे।
पुष ११, २०८१ बिहीबार २१:२९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।