'पुष्पा-२' को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लु अर्जुनले दिए एक करोड, मुद्दा फिर्ता लिने तयारी
एजेन्सी : दक्षिण भारतीय फिल्म 'पुष्पा-२'को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई फिल्मका टिमले २ करोड भारू दिएका छन्।
अभिनेता अल्लु अर्जुनका बुबाका अनुसार अल्लु अर्जुनले मात्रै १ करोड भारू दिए भने फिल्मका निर्देशक सुकुमार र मैत्रेयी प्रोडक्सन हाउसले ५०/५० लाख भारू दिएका हुन्।
४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो। अल्लु अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका छन्। एक महिलाको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लु अर्जुनविरूद्ध उजुरी दिएका थिए।
केही दिनअघि हैदराबाद प्रहरीले अल्लु अर्जुनलाई पक्राउ पनि गरेको थियो। तर, तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि धरौटीमा छाड्यो।
तर, भागदौडमा मारिएकी महिलाका पति भास्कर अल्लु अर्जुनविरुद्धको मुद्दा फिर्ता लिन तयार छन्। उनी अल्लु अर्जुनलाई घटनामा दोषी मान्दैनन्। एनडीटीभीका अनुसार भास्करले छोराको उपचारका लागि अभिनेताबाट पूर्ण सहयोग पाएको बताए।
उनले भने, ‘घटनाको भोलिपल्टदेखि अल्लुले हामीलाई साथ दिइरहेका छन्। यो दुर्घटना हाम्रो दुर्भाग्य हो। अभिनेताको गिरफ्तारीको लागि हामीलाई दोष लगाइयो। तर हामीसँग लड्ने शक्ति छैन।’
पुष ११, २०८१ बिहीबार २०:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।