प्रकाश सपुतको ‘फूलमाया’ गीत गाउँदै विप्लवले सोधे 'केपीजी तपाईंलाई ताज कसले बनाइदियो?'

प्रकाश सपुतको ‘फूलमाया’ गीत गाउँदै विप्लवले सोधे 'केपीजी तपाईंलाई ताज कसले बनाइदियो?'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले ‘ढेडु-बाँदरहरूको जमात’ खडा भएको टिप्पणी गरेका छन्। 

बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागि दलहरू मारामार गरिरहेको भन्दै ब्यङ्य गरे। 

उनले भने, ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ भन्या जस्तो ठाउँमा आज नेपाल पुग्या छ।’ 

काठमाडौंको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकामा उनले असन्तुष्ट व्यक्त गरे। 

उनले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भने, ‘नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेडुहरूले पगरी गुथेका छन्। कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन्।’

महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरू सक्रिय रहेको बताएका छन्। 

उनले अगाडि भने, ‘कसैको अनुहार रातो छ, कसैको कालो छ। कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन्। कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन्।’

जनयुद्ध शब्दमाथि प्रहार भएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रश्न गरेका छन्। 

गायक प्रकाश सपुतको ‘फूलमाया’ गीत गुनगुनाउँदै विप्लवले भने, ‘ओलीजीलाई पनि सोध्नुपर्ने छ। जनयुद्ध नभए के हो? प्रकाश सपुतले गाएको एउटा गीतको याद आउँछ। फुलमाया कानमा झुम्कना तिमलाई कसले किन्दियो? रातो स्कुटर कसले किन्दियो? केपीजी तपाईंलाई ताज कसले बनाइदियो? तपाईंलाई कुर्सी कसले पहिर्याइदियो? तपाईंलाई राज कसले बनाइदियो? तपाईं बसेको ठाउँ कसले बनाइदियो?’

पुष ११, २०८१ बिहीबार १८:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।