'केपी ओलीले एमालेबाट निकालेका' भीम रावल अब के गर्छन् ?
काठमाडौं : पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेका डा भीम रावलले अब एमालेमा रहने आफ्नो ढोका बन्द भएको बताएका छन्। एमालेबाट निकालिसकेपछि अब एमालेमा रहने भन्ने प्रश्नै नहुने उनको तर्क छ। एमालेले बुधबार बसेको सचिवालय बैठकबाट पूर्वउपाध्यक्षसमेत रहेका रावललाई संगठित सदस्यबाटै निकालेपछि अब उनको राजनीति कसरी अघि बढ्ला?
आफूलाई कारबाही भएपछि रावलले अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भनेका छन्। उनको बुझाइमा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो। त्यसैले पनि उनले आफूलाई ओलीले नै एमालेबाट निकालेको दाबी गरिरहेका छन्।
तत्कालका लागि उनीसँग वामदेव गौतमको शैलीमा पार्टीहिन भएर बस्ने वा एकिकृत समाजवादीमा जाने वा आफ्नै नेतृत्वमा नयाँ दल खोल्ने तीन विकल्प देखिन्छ। उनी निकटका अनुसार उनी तेस्रो विकल्पमा जाने सम्भावना बढी छ।
उनलाई एमालेले निष्काशन गर्नु अगाडि नै एमालेबाटै फुटेर गएको माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टी प्रवेशको प्रस्ताव राखेको थियो। तर, तत्काल आफू त्यस पार्टीमा जान तयार नरहेको रावल बताउँछन्।
'मलाई माधव नेपालजीले धेरै अगाडि भेट्नुभएको थियो। लौ, यो पार्टीमा आउनुपर्यो भन्नुभएको थियो। तर मैले मेरा विचारहरू देश र जनताबारेका धारणाहरूबारे तपाईंहरूका धारणा के छन्, ती पहिले प्रस्ट हुनुपर्यो भनें, त्यसपछि भेट भएको छैन। अहिले पनि अरू पार्टीमा जाने सोचेको छैन, उनले भने।
उनले अब आफू पहिले यो निर्णयलाई अध्ययन र अवलोकन गर्ने अनि साथीभाइ र शुभेच्छुकको राय लिएर निर्णय गर्ने बताएका छन्। एकातिर एमालेमा बस्न नसक्ने परिस्थिति र अर्कोतिर एक समय उनीनिकट मानिएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान नसक्ने भएपछि रावलले आफैं नयाँ दल खोल्ने सम्भावना बढी छ।
रावल नयाँ पार्टी खोल्ने छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए। कुँवरका अनुसार रावलले एक/दुई दिनभित्रै पत्रकार सम्मेलनमार्फत् धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने छन्। उनी त्यसैको तयारीका लागि केही दिनमै देश दौडाहामा निस्कने योजनामा छन्।
एमालेभित्र आफ्नो पक्षमा रहेको मत परिक्षण गर्न उनले सामाजिक सञ्जाल एक्समार्फत् आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा उत्रन समर्थकलाई अपिलसमेत गरेका छन्।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन्। एमालेले उनलाई पार्टीबाट निकाल्ने अनि अन्य दुई नेतृलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालहरुमा त्यसको विरोध भए पनि रावलको समर्थनमा भने कमै टिप्पणी देखिन्छ।
...त्यसपछि केपी ओलीको निशानामा परे रावल
राजनीतिक रुपमा रावल एमालेमै थिए। तर जिम्मेवारीका रुपमा उनी एमालेमा हुनु र नहुनुको अन्तर थिएन। उनलाई पार्टीले कुनै जिम्मेवारी दिएको थिएन नै। उनी आफ्नो जिल्लामा भने एमालेकै नामबाट सक्रिय थिए।
झट्ट हेर्दा एमालेको चितवनमा सम्पन्न दसौं महाधिवेशनमा 'पार्टीको निर्णय विपरीत' ओलीसँग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेकाले उनी ओलीको निशानामा परेको झैँ देखिन्छ। उनलाई निस्कासन गर्दा दसौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप समेटियो पनि।
‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन। त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो। त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन। र, अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन्।
तर, रावल र ओलीको सम्बन्धन बिग्रनुको मुल कारण एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछिको आन्तरिक कलह नै हो। २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि माधव नेपाल- पुष्पकमल दाहाल प्रचण्ड समूह निर्माण भयो। रावल पनि यही समूहमा मिसिएका थिए।
नेकपाको अनौपचारिक विभाजनपछि चलिरहेको वाकयुद्धमा ओलीले एक पक्षको नेतृत्व गरिरहेका थिए भने प्रचण्डले अर्को पक्षको। त्यसबेला दैनिकजसो चलिरहेको भाषणमा दुवै पक्षले एक अर्कालाई छुद्र टिप्पणी गरिरहेका हुन्थे। त्यहीमेसोमा ओलीले प्रचण्ड र माधव नेपालपछि सबैभन्दा बढी निसानामा पारेको नाम थियो, भीम रावल। नेता रावलले ओलीको संसद विघटन गर्ने निर्णयलाई संविधानको हत्या भनेर टिप्पणी गरेका थिए।
त्यसअघि पनि नेकपाभित्र ओली र रावल को बढी राष्ट्रवादी देखिने भन्नेमा प्रतिष्पर्धा देखिएको थियो। चुच्चे नक्सा प्रकरणमा ओली राष्ट्रवादी देखिंदा एमसीसी प्रकरणमा रावल विपक्षमा उभिएका थिए। नेकपा औपचारिक रुपमा विभाजित भएर पूर्ववत् एमाले र माओवादी केन्द्र ब्यूँतियो।
माधव नेपालसहितका नेताहरु एमालेमै रहेर ओलीको विपक्षमा पार्टीभित्र मत निर्माण जुटे पनि आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत दिएपछि टिक्न सकेनन् र पार्टी विभाजित भयो।
माधव नेपालको नेतृत्वमा बन्ने पार्टीमा त्यो बेला रावलसहितका नेताहरु आउने अनुमान विपरित रावल योगेश भट्टराईहरु एमालेकै रहे। भट्टराईसहितका नेताहरु ओलीले जे भने त्यही मानेर बसे तर रावल भने निरन्तर विपक्षकै भुमिकामा रहँदा अन्तमा पार्टीबाटै निस्कासित हुन पुगे।
पुष ११, २०८१ बिहीबार १६:५२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।