कजाकस्तान विमान दुर्घटना : कप्तानसँग १५ हजार घण्टा बढीको उडान गरेको अनुभव थियो, ३८ जनाको मृत्यु
अजरबैजान : कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन्।
बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी जाँदै गर्दा कजाकस्तानको अक्ताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएपछि उपप्रधानमन्त्री बोजुम्बायेभले यस्तो बताए।
कजाखस्तानको आपतकालीन स्थिति मन्त्रालयका अनुसार विमानमा ६७ जना सवार भएकोमा ३८ जनाको ज्यान गएको छ।
दुर्घटनापछि कजाकस्तान र अजरबैजान दुवै देशले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय समिति गठन गरेको घोषणा गरेका छन्। यद्यपि, हालसम्म दुवै देशका सरकारहरूले यो घटनाको कारण तत्काल निर्धारण गर्न नसकिने बताएका छन्।
बोजुम्बायेभले एक अन्तर–विभागीय अनुसन्धान टोली गठन गरिएको जानकारी दिए। उनका अनुसार आपराधिक अनुसन्धान र पहिचान विशेषज्ञहरू तथा नागरिक उड्डयन व्यवस्थापनका विशेषज्ञहरू अक्ताउमा थप अनुसन्धानका लागि पुगिसकेका छन्।
विशेषज्ञहरूले घटनास्थलबाट सम्पूर्ण प्रमाण सङ्कलन गरी आपराधिक मुद्दाको ढाँचामा आवश्यक पहिचानको काम गर्नेछन् जसबाट उक्त दुर्घटनाको कारण पत्ता लगाउनका लागि सहयोगको अपेक्षा गरिएको बोजुम्बायेभले बताए।
यसैबीच, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधबार एक आधिकारिक आदेश जारी गरी डिसेम्बर २६ लाई राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरिसकेका छन्।
रुसको हवाई क्षेत्रमा सन् पिटर्सबर्ग शिखर सम्मेलनका लागि विमान दुर्घटनाका क्रममा राष्ट्रपति अलियेभ जाँदै थिए तर दुर्घटनाको जानकारी पाउनेबित्तिकै राष्ट्रपति अलियेभले आफ्नो उडान फिर्ता गरेका थिए।
दुर्घटनाग्रस्त विमानले खराब मौसमका कारण आफ्नो मार्ग परिवर्तन गरेको राष्ट्रपति अलियेभले बताएका छन्।
तर घटनाको वास्तविक कारण अझै स्पष्ट नभएकाले सो घटनाको कारणबारे अहिले नै चर्चा गर्नु चाँडो हुने उनको भनाई छ। अजरबैजान एयरलाइन्सका अनुसार दुर्घटनाग्रस्त विमानको सबैभन्दा हालैको प्राविधिक जाँच अक्टोबरमा गरिएको थियो। विमानका कप्तानसँग १५ हजार घण्टाभन्दा बढीको उडान अनुभव रहेको जनाइएको छ।
हालका लागि अजरबैजान एयरलाइन्सले घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्म बाकुबाट ग्रोज्नी, रुस तथा बाकुबाट माखाचकाला, रुससम्मका सबै उडान स्थगित गर्ने घोषणा गरेको छ। (सीसीटिभीप्लस)
पुष ११, २०८१ बिहीबार १४:५०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।