१९ वर्षीय अष्ट्रेलियन खेलाडीलाई जानाजान धक्का दिएपछि कोहलीलाई आईसीसीको कारबाही
काठमाडौं : अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विपक्षी टिमका खेलाडीलाई जानाजान धक्का दिएपछि विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ।
अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश धक्का दिएपछि आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ।
एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिँदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ।
आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविध निषेध गरिएको छ। लापरवाहीपूर्वक हिँड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लंघन गरेको मानिन्छ।
चौथो टेस्टको १०औं ओभर सकिएपछि कोहलीले कन्स्टासलाई धक्का दिएपछि दुईबीच मुखामुख भएको थियो। तर, अष्ट्रेलियन ओपनर उस्मान ख्वाजाले हस्तक्षेप गर्दा त्यो लामो समयसम्म जान पाएन।
घटनापछि रिप्ले आउँदा एकतर्फ गइरहेका कन्स्टासलाई अर्को छेउबाट आएर जानीजाजी काँधमा ठक्कर दिएको देखिन्थ्यो।
च्यानल सेभेनसँग कुरा गर्दै अष्ट्रेलियन क्रिकेटर एवं अम्पाएर साइमन टोफेलले घटनालाई आईसीसीको आचार संहिता अनुसार अनुपयुक्त भएको बताएका थिए।
‘निर्देशकले उपलब्ध गराएको लङ सटमा विराट कोहलीले आफ्नो लाइन परिवर्तन गरेर कन्स्टासको लाइनमा आएको स्पष्ट देखिन्छ। आईसीसीको आचारसंहितामा खेलको समयमा अनुचित शारीरिक आचरणलाई सम्बोधन गर्ने प्रावधान छ। कोहलीको व्यवहार यसको दायराभित्र आउँछ। मलाई लाग्छ कि अम्पायर र रेफ्रीले यो कुरालाई गम्भीरतापूर्वक लिनेछन्’, टोफेलले भनेका थिइ।
१९ वर्षीय कोन्स्टासले डेब्यु टेस्टमा मात्र ५२ बलमा अर्धशतक पूरा गरेका थिए। कोहलीसँग भिड्दा उनले ३८ बलमा २७ रन बनाएर खेलिरहेका थिए।
जसप्रित बुमराहको बलमा केही शानदार स्कूप र र्याम्प शट खेल्दै कन्स्टासले ६५ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६० रन बनाए। लन्च ब्रेकअघि उनी रविन्द्र जडेजाको बलमा एलबीडब्लु आउट भए।
पुष ११, २०८१ बिहीबार १४:३४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।