स्रष्टा जितेन राईको हिजोको कुरा : धानको भात ख्वाउन बुवाले झापा झारे, दरबारमा पहुँच नपुग्दा जागिर स्थायी भएन
‘मालिङ्गो काटिनी लै लै’, ‘पूर्वै धरान’, ‘जन्म त गाउँमै को कहाँ हो मरण’, ‘घामै छायाँले’ जस्ता चर्चित गीतमा स्वर भरेका स्रष्टा हुन्- जितेन राई। चार दशकअघि उनले गाएका गीतहरू अहिले पनि रियालिटी शोमा गाइन्छन्, टिकटक बनाइन्छन् र सामाजिक सञ्जालमा आउने भिडियोमा समेत प्रयोग गरिन्छन्।
पाँचथरको तत्कालीन फलैचा गाउँ पञ्चायतमा वि.सं.२०१३ सालमा जन्मिएका उनले तीन कक्षासम्म गाउँकै विद्यालयमा पढे। २०२७ सालमा उनका बुवा पाँचथरबाट झापा बसाइ सरे, कारण एउटै थियो आठ सन्तानलाई अघाउन्जेल भात खुवाउनु। झापामा उनको भेट नेपाल र दार्जिलिङका संगीतकारहरूसँग भयो।
त्यही संगतले उनमा संगीतप्रति रुचि बढ्यो अनि रेडियो नेपालको स्वर परीक्षा दिए। पास गरेपछि त्यही साल उनले रेडियो नेपालको ‘म्युजिक डिरेक्टर’को जिम्मेवारी सम्हाले। त्यसयता उनले संगीत मात्र निर्देशन गरेनन्, आफैँले गाए पनि। उनै गायक तथा संगीतकार राईले आफ्ना जीवनका अनुभव उकेराको नियमित कोलम ‘हिजोका कुरा’मा यसरी सम्झिएः
बाल्यकालको सम्झना
२०१३ साल पाँचथरको फलैचा गाउँ पञ्चायतमा जन्मिएको हुँ म। अहिले याङवरक गाउँपालिका वडा नम्बर २ भएको छ। यो भारतको सिक्किमसँग सीमा जोडिएको पालिका हो। मैले थाहा पाउँदा त्यहाा प्रशस्त विद्यालय थिएनन्। गाउँमा स्कुल खुलेकै २२ सालतिर मात्र हो। मेरो बुबा ब्रिटिस लाहुरे हुनुहुन्थ्यो। त्यही समयमा उहाँले गङ्गावा भन्ने ठाउँमा स्कुल खोल्नुभएको थियो।
त्यतिबेला कापीकलम केही पनि थिएन, काठको तक्ता (कालो पाटी)लाई धुँवाको ध्वासोले लिपेर खरी ढुङ्गाले लेख्नुपथ्र्यो। चक पनि हुँदैनथ्यो। त्यो पाटीमा दुवैपट्टी लेख्नका लागि ध्वाँसोले लिपिन्थ्यो। त्यो हत्तपत्त मेट्न मिल्दैनथ्यो। त्यो पाटीलाई घरको भित्तामा झुड्याएर कखरा सिकिन्थ्यो।
सिसा कमलले लेख्नका लागि त निकै कक्षा चढेपछि मात्रै पाइन्थ्यो। १२ खरीको १२ मात्रा जानेपछि मात्रै त्यो कलमले लेख्न पाइन्थो नत्र पाइँदैनथ्यो। २२ सालतिरकै कुरा गर्ने हो भने केटाको तुलनामा एकदमै कम मात्र केटी पढ्न आउँथे। त्यतिबेला जति पढेको छ, त्यति पढाउन जान्ने भए सर्टिफिकेटको आवश्यकता नै पर्दैनथ्यो, त्यसै जागिरे भइन्थ्यो।
पछि-पछि किताबहरू पनि आउन थाल्यो। किताबमा ‘यो घर कसको आलेको, भित्र बाहिर टालेको’ जस्ता पाठहरू हुन्थेँ। हामी यसलाई लय हालेर पढ्थ्यौँ। तीन कक्षा यो स्कुलमा पढेपछि धानको भात खाने भन्दै बुवाले हामीलाई २७ सालतिर झापा लैजानुभो। दमक पारिपटी गाउँमा हामी बसाई सरेर आएका थियौँ।
तराई झरेपछि म एकै पटक ८ कक्षामा भर्ना भए। किनभने त्यति बेला ८/९ वर्षको हुँदादेखि स्कुल गइन्थ्यो। अहिलेको जस्तो सानैबाट स्कुल पठाउने चलन पनि थिएन। ठूलो भएपछि स्कुल जाँदा उमेर पनि छिपियो। तराई आएपछि धमाधम पढियो।
पल्टनबाट बुवाले हार्मोनियम ल्याएपछि...
मैले पाँचथरमा हुँदा आधुनिक बाजा कहिल्यै देखिँन। बुवा पल्टने हुनुहुन्थ्यो। त्यतिबेला अहिलेको भारतमा ब्रिटिस राज थियो। पल्टनबाट घर फर्कँदा बुवाले हार्मोनियम लिएर आउनुभयो।
मैले पहिलो पटक आधुनिक बाजा देखेको नै त्यही हो। त्यसअघि हाम्रोतिर मुर्चुङ्गा, बिनायो, मादल, ढोल, च्याब्रुङ, बाँसुरी, मुरली यस्तै थियो। मलाई यी बाजाहरू बजाउन राम्रोसँग आउँथ्यो।
रेडियो नेपाल त्यतिबेला गाउँ घरमा पनि सुनिन्थ्यो। तर, प्रष्ट आउँदैनथ्यो। मिटर घुमाउँदा-घुमाउँदा बल्ल-बल्ल झ्यारर गरेर सुनिन्थ्यो, त्यही पनि बन्द हुने बेला भइसक्थ्यो।
नेपालको भन्दा बङ्गलादेश इण्डियातिरका रेडियोको प्रष्टसँग टिप्थ्यो। रेडियो नेपालमा कस्ता गीतहरू बज्छ भनेर सुन्न थालेको त्यतिबेलादेखि नै हो। त्यसअघि त आफैँ गाउने अनि नाच्ने गरिन्थ्यो।
त्यतिबेला गाउँघरमा कथ्य गीतहरू गाइन्थ्यो अनि स्कूलमा मादल बजाएर मारुनी नाचिन्थ्यो। झापा झरेपछि मेरो परिचय फराकिलो बन्दै गयो। गाउँघरमा हुने कार्यक्रममा म हुन्थेँ नै, सिक्किमेली र दार्जिलिङका कलाकारहरूसँगको संगतले गितार बजाउन समेत जानेँ।
गितार बजाउन जानेपछि मैले प्रगतिशील गीतहरू उधुमै गाउन थाले। प्रगतिशील गीतलाई जनताको गीत भन्ने चलन थियो। त्यसलाई कम्युनिष्टको गीत मानिन्थ्यो।
भारू चल्थ्यो
पाँचथर भारतको सिमाना भएकाले पनि होला, त्यतिबेला भारतीय रुपैयाँले सामान किनबेच हुन्थ्यो। नेपाली पैसा नै चलेको थाहा पाइँन। पछि-पछि राता कागजमा एक वा दुई पैसाको मोरू भन्ने निस्कियो, त्यसैलाई नेपाली पैसा भनिन्थ्यो।
निकै पछि डबल पैसाको बीचमा प्वाल पारेका पैसाहरू आउन थाले। तिनीहरूलाई लाल पैसा र एक पैसा भनिन्थ्यो। चार कन्चीको एक पैसा हुन्थ्यो। एक रुपैयाँ त कहाँबाट देख्न पाउनु। छरछिमेकमा ऐँचोपैँचो चल्थ्यो। किन्ने भनेको लुगाफाटो मात्र हो।
हाम्रो गाउँमा दोभाने भन्ने ठाउँमा गीत गाउन जाँदा कसैले पाँच पैसा, दश पैसा दिन्थे। किनेर खाने भनेको सुन्तला, तरुल, सेल रोटी अनि सितलु मिठाई मात्रै थियो। त्योबाहेक अरु केही पनि पाइँदैनथ्यो।
धानको भात भात खान झापा झरियो
२७ सालमा धानको भात खान झापाको झोडा आएर बस्यौँ। केर्सादेखि उत्तर तिरको ठाउँलाई झोडा भन्ने गरिन्थ्यो। त्यतिबेला पट्यारलाग्दो जंगल थियो। महेन्द्र राजमार्ग भर्खर बन्दै थियो। दमक खोलामा पुल थिएन।
त्यतिबेला पहाडमा भन्दा मधेशमा बढी सुविधा थियो। तराई झरेपछि मेरो बजाउने, गाउने अनि नाच्ने कलामाले पनि लय समात्यो। स्कुल र अन्य ठाउँमा हुने सांगीतिक कार्यक्रममा मैले पनि प्रस्तुति दिन थालेँ।
२७ सालमा तराई झरेको २८-२९ सालतिर त गाउँ घरमा हामी त भुँइफट्टा कलाकार भइहाल्यौँ(हाहाहा)। कसैले गीत गाउन अनि बाजा बजाउन सिकाउन नै परेन, सबै आफैँ जान्यौँ। जे सुन्यौँ, जे देख्यौँ त्यो टिपिहाल्ने गाउन र बजाउन थालिहाल्ने।
यतिबेला खेतिपाती पनि टन्नै गर्न थालिएको थियो। सबै कुरा गरियो। ३८ सालमा मैले एसएलसी पास गरेपछि धरान गएँ पढ्नलाई। त्यसपछि मेरो गायन यात्रा सुरू भयो।
पहिलो गीत ब्रिटिस क्याम्पमा
धरानमा गायक शम्भु राई, साहित्यकाल मन्जिल लगायतसँग भेट भयो। धरान शहर भएकाले त्यहाँ गएपछि मैले आधुनिक बाजाहरूसमेत बजाउन सिकेँ। त्यतिबेला धरानमा नाटक खुब चल्थ्यो। म आफैँले पनि नाटकका लागि गीतहरू लेख्न र गाउन थालेँ।
गीत धरानकै ब्रिटिस क्याम्पभित्र रहेको ‘बीएफबीएस’ स्टुडियोमा रेकर्ड गरियो। यो स्टुडियो सामान्य थियो। पहिलो गीत ठ्याक्कै कुन रेकर्ड गरियो भन्ने कुरा अहिले खुट्याउनै सकिनँ। यो झण्डै ४५ वर्षअघिको कुरा हो।
त्यसपछि बिस्तारै क्यासेटको जमाना आयो। हङकङे लाहुरेहरूले क्यासेटको चक्का नेपाल भित्र्याउन थाले। पछि हामी आफैँले पनि क्यासेटमा गीत रेकर्ड गर्न थाल्यौँ। यही क्रममा २०३८ सालमा काठमाडौं आएँ म। काठमाडौंको भाडा ७० रुपैयाँ थियो। दुई वटा बस चल्थे, कन्काई र राजदूत बस।
यो बसको विज्ञापन रेडियो नेपालमा पनि खुब बज्थ्यो। ती बस अहिलेको जस्तो लामो बसजस्तो नभई छोटा हुन्थ्ये। काठमाडौं आएपछि रेडियो नेपालमा स्वर परीक्षा दिएँ र पास पनि गरेँ।
परीक्षा पास गर्नेबित्तिकै ‘ग’ श्रेणीको प्रमाणपत्र दिइन्थ्यो। गाउन थालेपछि मात्र ‘ख’, ‘क’ हुँदै वरिष्ठ श्रेणीको गायकमा गनिन्थ्यो। यदि गीत गाउन सकेन भने फेरि स्वर परीक्षा दिएर पास गर्नुपर्थ्यो।
परीक्षा पास भएपछि रेडियो नेपालमा पहिलो पटक मैले ‘मालिङ्गो काटिनी लै लै’ गीत रेकर्ड गरे। त्यो गीत असाध्यै चल्यो। त्यसपछि मैले अर्को ‘मेचीकाली’, ‘सलल पानी’ भन्ने गीतहरू पनि रेकर्ड गराएँ।
त्यतिबेला रेडियो नेपालमा गीत गाउन पाउनु भनेको सपना पूरा हुनुजस्तै थियो। रेडियो नेपालमा गीत गाएकालाई ‘रेडियो नेपालको कलाकार हो’ भन्ने लाग्थ्यो, त्यो अनुसारको क्रेज थियो पनि। नेपालमा गीत गाएर कुनै पनि दर्जा पाउनु अत्यन्तै ठुलो गौरवको कुरा थियो, जो कोहीले पाउँदैनथे।
गाउँघरमा रेडियो नेपालको कलाकार भनेपछि हेर्ने दृष्टिकोण नै छुट्टै हुन्थ्यो। सम्मान र माया पाइन्थ्यो। पहिलो पटक आफूले गाएको गीत रेडियो नेपालबाट सुन्दा त म उल्कै खुसी थिएँ। बयानै गर्न सक्दिन त्यो क्षणलाई अहिले।
लाहुरे बन्ने उमेरै ढल्क्यो
बुवाआमाको चाहना लाहुरे होस् भन्ने थियो। तर मेरो पढाइ र अन्य कुराले गर्दा लाहुरे बन्ने उमेर ढल्किहाल्यो। त्यसपछि मेरो बाटो मर्काउने कोसिस गर्नुभएन उहाँहरूले।
गीत गाइसकेपछि रेडियोमा बज्दा सुन्नुहुन्थ्यो होला। तर, कहिल्यै ‘राम्रो गाइस्’ भन्नुभएन। त्यतिबेला छोराछोरीले राम्रो गर्दा प्रशंसा गर्ने चलनै थिएन। ‘पास भइस्’ भनेर सोध्दा ‘भएँ’ भन्यो भने ‘ठिक छ’ भन्नुहुन्थ्यो। त्यत्ति हो।
मेरो घरमा मात्र होइन, कसैकोमा पनि छोराछोरीको प्रगतिमा धन्यवाद भनेर प्रशंसा गरेको सुनिदैनथ्यो। मनमा त हुन्थ्यो होला तर बाहिर कसैले पनि देखाउनु हुँदैनथ्यो। एक शब्द बोलेपछि सकियो।
पहिलेका दुःख
मैले रेडियो नेपालमा अधिकांश गायक गायिकाहरूसँग संगत गरियो। कति त अहिले बितिसे, कति ज्युँदै होलान्। रेडियो नेपालमा नौ वर्ष म्युजिक निर्देशक भएर काम गरेँ। धेरै कलाकारको स्वर परीक्षा लिएँ।
देशै भरिबाट आएका साथीहरूसँग मेरो चिनजान हुन्थ्यो। यो ४० सालपछिको कुरा हो। करार जागिर भएको हुनाले यसरी जीविका चल्दैन भनेर काम थालेको झण्डै एक दशकपछि छाडेँ। त्यहाँ जागिर खानका लागि भनसुन गर्नुपर्थ्यो। मलाई भनसुन गर्नै मन लागेन।
त्यतिबेला रेडियो नेपालमा आफूले पाएको समय उम्काउन मिल्दैनथ्यो। एउटाले बिगार्यो भने सबैको काम बिग्रिन्थ्यो। फेरि सुरुबाट गाउनुपर्थ्यो। गाउन नसके फेरि स्वर परीक्षा पास गरेर आउनुपर्थ्यो। गीतकारदेखि संगीतकार र सबै बाध्यबाधकसँग एकैपटक भेट हुन्थ्यो। मेहनत धेरै हुन्थ्यो।
पुष ११, २०८१ बिहीबार १४:०५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।