कोहली जानीजानी ठोक्किन गएपछि कन्स्टाससँग नोकझोक (भिडियो)
एजेन्सी : एमसीजी टेस्टको पहिलो दिन भारतका सिनियर खेलाडी विराट कोहली र अष्ट्रेलियाका लागि डेब्यु गरेका खेलाडी साम कन्स्टासबीच नोकझोक भएको छ।
१०औं ओभर सकिएपछि कोहली र कन्स्टासबीच पिचमा ठक्कर भएपछि दुईबीच मुखामुख भएको हो। तर, अष्ट्रेलियन ओपनर उस्मान ख्वाजाले हस्तक्षेप गर्दा त्यो लामो समयसम्म जान पाएन।
घटनापछि रिप्ले आउँदा एकतर्फ गइरहेका कन्स्टासलाई अर्को छेउबाट आएर जानीजाजी काँधमा ठक्कर दिएको देखिन्छ।
‘के भइरहेको छ नै मैले बुझिनँ। मैले पन्जा मिलाउँदै थिएँ। त्यही समयमा काँधहरू ठोक्किए। तर क्रिकेटमा यस्तो हुन्छ’, कन्स्टासले च्यानल सेभेनलाई भने।
अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले कमेन्ट्रीका क्रममा विराटले जानीजानी कन्स्टासको काँधमा ठोक्किएको बताए।
भिडियो हेर्दै गरेको कमेन्ट्रीमा उनले भने, ‘विराट कसरी हिडिरहेका छन्, हेरौँ। विराट पिचको दाहिने तर्फ गएर जानीजानी ठोक्किएका छन्।’
राम्रो रन बनाइरहेका खेलाडीलाई ध्यान भङ्ग गर्न भारतले यस्तो हर्कत यसअघि पनि गर्दै आएको थियो।
"Have a look where Virat walks. Virat's walked one whole pitch over to his right and instigated that confrontation. No doubt in my mind whatsoever."
— 7Cricket (@7Cricket) December 26, 2024
- Ricky Ponting #AUSvIND pic.twitter.com/zm4rjG4X9A
च्यानल सेभेनसँग कुरा गर्दै अष्ट्रेलियन क्रिकेटर एवं अम्पाएर साइमन टोफेलले घटनालाई आईसीसीको आचार संहिता अनुसार अनुपयुक्त भएको बताए।
‘निर्देशकले उपलब्ध गराएको लङ सटमा विराट कोहलीले आफ्नो लाइन परिवर्तन गरेर कन्स्टासको लाइनमा आएको स्पष्ट देखिन्छ। आईसीसीको आचारसंहितामा खेलको समयमा अनुचित शारीरिक आचरणलाई सम्बोधन गर्ने प्रावधान छ। कोहलीको व्यवहार यसको दायराभित्र आउँछ। मलाई लाग्छ कि अम्पायर र रेफ्रीले यो कुरालाई गम्भीरतापूर्वक लिनेछन्’, टोफेलले भने।
१९ वर्षीय कोन्स्टासले डेब्यु टेस्टमा मात्र ५२ बलमा अर्धशतक पूरा गरेका थिए। कोहलीसँग भिड्दा उनले ३८ बलमा २७ रन बनाएर खेलिरहेका थिए।
जसप्रित बुमराहको बला केही शानदार स्कूप र र्याम्प शट खेल्दै कन्स्टासले ६५ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६० रन बनाए। लंच ब्रेकअघि उनी रविन्द्र जडेजाको बलमा एलबीडब्लु आउट भए।
पुष ११, २०८१ बिहीबार ११:३६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।