प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन

प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन

काठमाडौं : नेपाल प्रहरीका दुई सहायक हवल्दार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्।

प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुसी गैर हाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।

गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन्।

सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।

आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पुष ११, २०८१ बिहीबार ०९:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।