शुक्रबारदेखि वर्षा हुने, जाडो पनि बढ्ने

शुक्रबारदेखि वर्षा हुने, जाडो पनि बढ्ने

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ।

'आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ, उनले भने, 'शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ। देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।'

मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने बताए। आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ।

पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ। 

उनले भने, 'मङ्गलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ। घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ। पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ।'

महाशाखाको रेकर्डमा आज काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्रिसेल्सियस र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहनेछ।
 
गत मङ्सिर २९ मा न्यूनतम तापक्रम घटेर २ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो। आज आकाश खुलेकाले बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने मौसमविद् मानन्धरले जानकारी दिए। 

मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ। घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ। माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ। पुसे झरीले अझै जाडो बढ्ने जनाइन्छ। 

राति छिटफुट वर्षा भएर बिहान सामान्य बदली रहे पनि मध्याह्नतिर काठमाडौंको आकाशमा पारिलो घाम लागेकाले दिउँसो केही न्यानो महसुस गरिएको थियो। 

पुष १०, २०८१ बुधबार २२:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।