उकेरा टप फाइभ : एमाले नेतृत्वमा बढेको तानाशाही प्रवृत्तिदेखि सिटी सफारीमा लगेर बलात्कार गरिएकी महिलासम्म
काठमाडौं : सत्तारूढ कांग्रेस र एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका छन्। दुई दलका शीर्ष नेतासहित बालुवाटारमा भएको शृंखलाबद्ध बैठकले संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र असार १७ मा दुई दलबीच भएको सात बुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना अघि सार्ने तयारी थालेका हुन्। कांग्रेस र एमालेले संविधान संशोधनको मूल एजेन्डा बनाएर असार १७ मा सत्ता सहकार्यको सात बुँदे सहमति गरेका थिए।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो। उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौं मल, लबिङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा एकैपटक छानबिन गर्न नसकिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सबैमाथि छानबिन हुने भए पनि एकैपटक अनुसन्धान गर्न नसकिने बताए।
भारतका चर्चित गायक सोनु निगम क्रिसमस अवसरमा आयोजना हुने कन्सर्टमा सांगीतिक प्रस्तुति दिन अपरान्ह काठमाडौं आइपुगे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे। प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिएका छन्।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो। राष्ट्र बैंकको प्रेस विज्ञप्तिअनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफैं लिएको छ।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
एमालेले व्यापारीसँग लिएको जग्गा दानको विषय। सरकारको नेतृत्व गरिरहेको एमालेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा धरौटीमा रहेका व्यापारी मीनबहादुर गुरूङसँग १० रोपनी १४ आना जग्गासँगै त्यस जग्गामा पार्टी कार्यालय समेत उनकै खर्चमा बनाउने गरी शिलान्यास गरियो, असोज २४ मा। एमालेको केन्द्रीय कार्यालय बनाउन एमाले अध्यक्ष केपी ओली र गुरूङ दम्पतीले शिलान्यास गरे। शिलान्यासपछि गुरूङले भवन समेत आफैंले बनाएर आगामी वर्ष हस्तान्तरण गर्ने बताए। सरकारको नेतृत्वमा रहेको दलले गम्भीर अपराधमा मुद्दा विचाराधीन रहेका व्यापारीसँग अर्बौँ दान लिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भयो। तर, एमालेभित्रका नेताहरूले त्यसको बारेमा चुइँक्क बोलेनन्।
पूरा समाचार: एमालेमा जसले नेतृत्वको विरोध गर्छ, ऊ सकिन्छ!
सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटकतिर अहिले एउटा भिडिओ भाइरल भइरहेको छ, त्यसमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको भनेका छन्। त्यस भिडिओलाई अहिले सामाजिक सञ्जालतिर भाइरल गराउनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू लागिरहेको पाइन्छ। उनीहरूले धमाधम त्यस भिडिओलाई शेयर तथा रिट्विट गरिरहेको देखिन्छ।
पूरा समाचार: ४ वर्षअघि राष्ट्रपतिले भनेका थिए 'केपी ओली १४ वर्ष जेल बसेको ज्यान मुद्दामा हो, लोकतन्त्रका लागि हैन', भिडिओ अहिले भाइरल भयो
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो। तर, सवारी चालक अनुमति पत्र भने थिएन। त्यसैले कार्यालय जान-आउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ मा बिदा लिएर भक्तपुर आएका थिए दिक्तेलका स्थायी बासिन्दा आचार्य। तर, सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै उनी सधैंको लागि अस्ताए।
पूरा समाचार: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, म्युजिक भिडियो खेलिरहेका प्रवीण अमेरिका जाने तयारीमा थिए
मोरङको कटहरीमा २३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनुकुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार छन्। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्दा रमजान, सोनु कुमार र गुल्जारले घरबाट शौच गर्न निस्किएकी ती महिलालाई सिटी सफारीमा राखी उक्त बाँसघारीमा लगेर करणी गरेको खुलेको प्रहरीले जनाएको छ।
पूरा समाचार: शौच गर्न गएकी महिलालाई सिटी सफारीमा राखेर बाँसघारी पुर्याए, दुई जनाले सलले मुख थुनिदिए, एक जनाले जबर्जस्ती गरे
जरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ। हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताए।
पूरा समाचार: हावाहुरीका कारण गन्तव्यमा जान नसकेपछि चिप्लिएर दुर्घटना भएको अजरबैजान विमान
पुष १०, २०८१ बुधबार २१:५४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।