आफूमाथि कारबाही भएपछि उषाकिरण भन्छिन् 'पञ्चायतविरूद्ध लडेर आएको एमाले नेतृत्वले पञ्चकै नक्कल गर्यो'
काठमाडौं : आजै एमालेको निलम्बनमा परेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले पार्टी नेतृत्वले पञ्चको नक्कल गरेको आरोप लगाएकी छिन्।
भाटभटेनीका सञ्चालक मीन बहादुर गुरूङबाट पार्टीलाई दान पाएको जग्गा प्रकरणमा त्यो लिन नहुने अडान राखेपछि उनलाई आज बसेको सचिवालय बैठकले छ महिनाका लागि जिम्मेवारीविहीन हुने गरी कारबाही गरेको छ।
बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै उनीसहित विन्दा पाण्डेलाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको छ।
त्यसपछि प्रतिक्रिया दिंदै उनले सामाजिक सञ्जालमा पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेर आफूहरूलाई कारबाही गरिएको उल्लेख गरेकी हुन्।
पार्टी नेतृत्वविरूद्ध कटाक्ष गर्दै उनले लेखेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ। पञ्चायतविरूद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो।’
त्यसअघि उनले आजै आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शिवपुरी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम सकेर भर्खर घर आइपुगेको लेखेकी छन्।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शिवपुरी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो, उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु’ उनले लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ।’
पुष १०, २०८१ बुधबार २१:१३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।