एमालेले जग्गा दान लिएको विषयमा बोल्ने भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणको जिम्मेवारी खोसियो

एमालेले जग्गा दान लिएको विषयमा बोल्ने भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणको जिम्मेवारी खोसियो

काठमाडौं : एमालेले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक पुस २१ र २१ मा बोलाएको हो। 

बैठकले केन्द्रीय कमिटीका चारवटा एजेन्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ।

यसैगरी बैठकले सरकारको समीक्षा गरेको छ। समीक्षामा विगत पाँच महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरेको छ। 

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको जानकारी दिए। 

अर्थतन्त्रमा सुधार आएको, सेयर बजार बढेको, संक्रमणकालीन विधेयक अघि बढेको, सरकारको बाह्य सम्बन्ध सञ्चालनमा सरकार सुधार भएको पनि एमालेको निष्कर्ष छ। त्यस्तै, सहकारी ठगीमा सरकारले कसैको मुख नहेरी कारबाही प्रक्रिया अघि बढेकोमा पनि एमालेले सकारात्मक भनेको छ।

यसैगरी आज बसेको केन्द्रीय कमिटी बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ। भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेपछि रावललाई कारबाही गरिएको हो। 

त्यही प्रकरणमा बोल्ने स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनासम्मको लागि जिम्मेवारीबाट हटाएको छ।

असोज २४ मा गुरुङको कीर्तिपुरमा रहेको १० रोपनी १४ आना जग्गामा एमालेको केन्द्रीय कार्यालय बनाउन एमाले अध्यक्ष केपी ओली र गुरुङ दम्पतीले शिलान्यास गरेका थिए।

बालुवाटारको सरकारकी जग्गा व्यक्तिगत बनाएर अपचलन गरेको मुद्दामा दोषी ठहर भएका गुरुङसँग पार्टीका लागि जग्गा दान लिएर भवन बनाउने जिम्मा दिने पार्टीको निर्णयको विपक्षमा पाण्डे र तिमल्सिनाले सामाजिक सञ्जालमा लेखेका थिए। रावलले भने सार्वजनिक फोरोमहरूबाटै त्यसको आलोचना गरेका थिए।  

पुष १०, २०८१ बुधबार १८:५७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।