शौच गर्न गएकी महिलालाई सिटी सफारीमा राखेर बाँसघारी पुर्याए, दुई जनाले सलले मुख थुनिदिए, एक जनाले जबर्जस्ती गरे
काठमाडौं : मोरङको कटहरीमा २३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनुकुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार छन्।
मंगलबार ती महिला कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन्।
त्यो खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई मंगलबार उद्धार गरी तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो। महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्दा रमजान, सोनु कुमार र गुल्जारले घरबाट शौच गर्न निस्किएकी ती महिलालाई सिटी सफारीमा राखी उक्त बाँसघारीमा लगेर करणी गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीन जनामध्ये रमजानले जबर्जस्ती करणी गरेको खुलेको छ भने अन्य दुई जनाले पीडितलाई समाउने अनि सलले बाँध्ने कार्यमा सघाएको भन्ने खुल्न आएको छ। त्यसैआधारमा तीनै जनालाई मोरङको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको दाबी छ।
उनीहरूमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले जानकारी दिए।
पुष १०, २०८१ बुधबार १८:३६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।