४ वर्षअघि राष्ट्रपतिले भनेका थिए 'केपी ओली १४ वर्ष जेल बसेको ज्यान मुद्दामा हो, लोकतन्त्रका लागि हैन', भिडिओ अहिले भाइरल भयो
काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटकतिर अहिले एउटा भिडिओ भाइरल भइरहेको छ, त्यसमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको भनेका छन्।
त्यस भिडिओलाई अहिले सामाजिक सञ्जालतिर भाइरल गराउनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू लागिरहेको पाइन्छ। उनीहरूले धमाधम त्यस भिडिओलाई शेयर तथा रिट्विट गरिरहेको देखिन्छ।
सहकारी ठगी, संगठित मुद्दा र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा दर्ता भएका रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री ओलीले नै फसाएको हो भन्ने तर्क गरिरहेका रास्वपा समर्थकहरूले यसअघि पनि 'कांग्रेस नेताहरूले मदन भण्डारीलाई मार्नको लागि मलाई अर्हाएका थिए' भन्ने अपुष्ट भिडिओ भाइरल गराएका थिए। पूर्वगृहमन्त्रीसमेत भइसकेका वामदेव गौतमले पनि त्यो भिडिओ हेरेपछि ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन भनेका थिए। जसको जवाफ प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै दिनुपर्यो।
अहिले पनि उनी रास्वपा समर्थकहरूले राष्ट्रपति रामचन्द्र पौडेलको चार वर्षअघि त्यस भिडिओ अहिले भाइरल बनाइरहेका छन्। त्यसबेला नेपाली कांग्रेसको वरिष्ठ नेताका हैसियतमा पौडेलले तत्कालीन प्रधानमन्त्री ओलीलक्षित गृहजिल्ला तनहुँमा दिएको अभिव्यक्ति हो। जसको सन्दर्भ र वास्तविकता पनि भिन्न छ।
२०७७ मंसिर १८ मा पौडेल व्यास नगरपालिकामा पर्ने बुल्दीखोलाको पुल उद्घाटन कार्यक्रममा गएका थिए। पुल उद्घाटनका क्रममा विवाद भयो। विवादको जड भने पुल कसले उद्घाटन गर्ने भन्नेबारेको थियो। तत्कालीन नेकपाका नेताहरू आफू उद्घाटन गर्न चाहन्थे भने रामचन्द्र पौडेल पनि आफ्नो गृह जिल्लामा बनेको त्यस पुलको उद्घाटन आफैं गर्न चाहन्थे। त्यहीकारण पौडेलले उद्घाटन गर्ने थाहा पाएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनले प्रदर्शन गर्यो।
त्यसपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिदियो। त्यसको दोष पौडेलले तत्कालीन सरकारलाई दिए। निषेधाज्ञापछि पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको भन्दै पौडेलले पुलको उद्घाटन गरिछाड्ने बताए। त्योबेला कोरोनाको सन्त्रास पनि उत्तिकै थियो। राजनीतिक मतभेदले पुल उद्घाटनको विवाद भएको भएपनि प्रशासनले भने बाहिरी रूपमा 'सामाजिक दुरी र शान्ति सुरक्षा'को कारण देखायो।
तर, निषेधाज्ञाकै बाबजुत पनि आक्रोशित भएर पुल उद्घाटन गर्न हिँडेका पौडेललाई प्रहरीले तालघरे भन्ने ठाउँबाट नियन्त्रणमा लियो। तीन घण्टा नियन्त्रणमा राखेपछि प्रहरीले उनलाई रिहा गर्यो। प्रहरीसँग धकेलाधकेल हुँदा आफ्नो करङ दुखेको उनले सुनाएका थिए।
आफ्ना वरिष्ठ नेता पक्राउ परेपछि कांग्रेसले पनि त्यसबेला चर्को विरोध गर्यो। त्यसपछि भने मंसिर १८ मा पौडेलले पुल उद्घाटन गरिछाडे। त्यही उद्घाटन कार्यक्रममा उनले भाषण गर्दै प्रधानमन्त्री ओलीलाई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका थिए। उनले त्यसो भनिरहँदा कार्यकर्ताले ताली पड्काएको भिडिओमा सुन्न सकिन्छ।
त्यसबेला उनले भनेका थिए, 'एउटा मुद्दामा झ्याप्पै परिहाल्यो, जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो अनि जेल परिहाल्यो, अनि यो लोकतन्त्रका लागि हो, केपी ओली मेरो अगाडि आएर कुरा गरोस्?'
ओलीलाई थप चुनौती दिंदै उनले अगाडि भनेका थिए, 'कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर? ज्यान मुद्दामा बसेको हो?रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।'
जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ? भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षडयन्त्रले सरकारको नेतृत्वमा पुगेको पौडेलले दाबी गरेका थिए। प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउँदै उनले भनेका थिए, 'राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि। विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो? राष्ट्रवाद त्यही हो?'
पुष १०, २०८१ बुधबार १६:३१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।