गाउँमा रोजीरोटी नचल्ने भएपछि भारत पलायन हुन थाले मुगुका युवाहरू, जन्ती र मलामीकै अभाव
मुगु : यतिबेला मुगुका अधिकांश युवाहरू रोजीरोटी अनि जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन्। गाउँमा रोजगारीका अवसरहरू नभएपछि उनीहरू ठूला शहर र भारततर्फ गएका हुन्।
गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, वर्षेनी बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरुले गाउँ छाडेका हुन्। स्थानीय सरकारले पनि रोजगारमूखी कार्यक्रमहरू नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती-मलामीको अभाव हुने गरेको स्थानीय बताउँछन्।
सोरू गाउँपालिका अन्तर्गत धैन, कालै, भिई, नार्थर्पु, फोतु, लिब्रु, कच्र्चे, रूम, ख्याल्च, बुम्च, सिरूपटा, खत्याड गाउँपालिकाको अमाले, लुमेरा, सेरी, जाम, जुम्फै, गम्था, कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँसहित छायानाथ रारा नगरपालिका अन्तर्गत रूगा, रोवा, पिना, कार्कीवाडा, ढुम, बाम, मुन्दर कोटीला थार्प, तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरू पलायन भएका हुन्।
सोरू गाउँपालिका-९ कि असौजी नेपाली भन्छिन्, ‘गाउँ यतिबेला युवाविहीन छ। कोही विरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह-ब्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ।’
उनले स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरूमा आफ्ना नातागोताले अवसर पाउने गरेको गुनासो गरिन्। तर, मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले भने युवा लक्षित कार्यक्रमहरू ल्याएको दाबी गरेका छन्।
अधिकांश युवाहरू भारतका विभिन्न शहरलगायत नेपालका काठमाडौं, धरान, बुटवल, चितवन, नेपालगन्ज, भैरहवालगायतका शहरमा युवाहरू मजदुरी र व्यापार गर्न जाने गरेका छन्।
स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरूमा आफूहरूको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरू गाउँपालिका-९ का जाडनाथ योगीको भनाइ छ।
तर, सोरू गाउँपालिकाले युवाहरूलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरू ल्याएको दाबी गरेको छ। युवा पलायन रोक्न भाबी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन्।
पुष १०, २०८१ बुधबार १५:०८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।