सहकारी रकम अपचलनमा एमालेको नाम आएपछि सञ्चारमन्त्रीले भने, ‘सबैलाई एकैपटक छानबिन गर्न त सकिन्न नि!’

सहकारी रकम अपचलनमा एमालेको नाम आएपछि सञ्चारमन्त्रीले भने, ‘सबैलाई एकैपटक छानबिन गर्न त सकिन्न नि!’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा एकैपटक छानबिन गर्न नसकिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सबैमाथि छानबिन हुने भए पनि एकैपटक अनुसन्धान गर्न नसकिने बताएका हुन्।

उनले भने, ‘समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो। संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ। सबैलाई एकैपटक छानबिन गर्न त सकिन्न नि!’

सत्ताधारी दललाई बचाउने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मात्र अनुसन्धान ग¥यो भन्ने अहिले गलत प्रचार गरिएको भन्दै उनले सहकारी रकम अपचलन सम्बन्धी छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगीमा संलग्न सबै दलका व्यक्तिमाथि कारबाही हुने दाबी गरे।

उनले थपे, ‘एकथरी राजनीतिक दलहरूलाई के भ्रम छ भने, हाम्रोलाई मात्र ग¥यो आफ्नोलाई गरेन भन्ने छ। समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन। त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस्। खालि रास्वपालाई मात्र ग¥यो भन्ने गतल प्रचार भयो। हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो।’

पछिल्लो समय सहकारी रकम अपचलनमा एमाले सांसद् एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकै श्रीमती अञ्जला कोइरालामाथि पनि अनुसन्धान हुनुपर्नेमा उनी फरार छिन्।

मोरङको धनपालथान गाउँपालिका-४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत गर्न पोखरेलले प्रधानाध्यापकलाई दबाब दिएको खबर पनि आइरहेका छन्।

विराटनगरको शनिहाटस्थित विराट रात्रि माविकी शिक्षिका अञ्जला राज्यकै संरक्षणमा रहे पनि प्रहरीले ‘फरार’ सूचीमा राखेको छ।

फरक प्रसङ्गमा उनले आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने बताए।

उनले भने, ‘मूलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिवद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ। तर केही काम भएको छैन। यो वर्ष म त्यहाँ हुदासम्म सबै काम गरेर नै छोड्छु। मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु।

पुष १०, २०८१ बुधबार १३:५९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।